काठमाडौं- इन्जुरी समयको अन्तिममा कासेमिरोले गरेको गोलको सहयोगमा ब्राजिलले विजयी भएकाे छ । कोपा अमेरिका फुटबलअन्तर्गत नेपाली समयअनुसार बिहीबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियामाथि जित निकालेकाे हो ।
समूह बीअन्तर्गत भएको खेलमा कोलम्बियाले सुरुवाति अग्रता लिए पनि अन्तिम तिर त्यसलाई जोगाउन सकेन । १० औँ मिनेटमा लुइस डियाजले गोल गरि कोलम्बियालाई अग्रता दिलाए ।
पछि परेको ब्राजिलका लागि ७८ औँ मिनेटमा रोबर्टो फिरमिनोले बराबरी गोल गरे । ब्राजिलको जितमा इन्जुरी समयको १० अर्थात १०० औँ मिनेटमा कासेमिरोले गरेको गोल निर्णायक बन्यो । यो गोलका लागि नेइमारले सहयोग गरेका हुन् ।
लगातार तीन खेलमा जित निकालेको ब्राजिल ९ अंकसहित समूहको शीर्ष स्थानमा छ र उसले यसअघि नै अघिल्लो चरणको यात्रा पक्का गरिसकेको छ । चारमध्ये एक खेलमा जित र एकमा बराबरी तथा दुई खेलमा पराजित भएको कोलम्बिया चार अंकसहित दोस्रो स्थानमा छ ।