दक्षिण अफ्रिकी महिलाले १० सन्तान जन्माएको खबर झुटो, कसरी फैलियो समाचार ?-Sutra News

दक्षिण अफ्रिकी महिलाले १० सन्तान जन्माएको खबर झुटो, कसरी फैलियो समाचार ?

बिहिबार, १० असार २०७८

बिहिबार, १० असार २०७८

दक्षिण अफ्रिकाकी एक जना महिलाले यसै महिनाको सुरुमा १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको एउटा आधिकारिक अनुसन्धानले पत्ता लगाएको छ।



खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा त्यसरी बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको हो। स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भवती समेत नरहेको देखाएको थियो।

ती ३७ वर्षिया महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ र उनलाई सहयोग उपलब्ध गराइने भनिएको छ। विज्ञप्तिमा झुट्टा समाचार दिनुको कारणबारे भने खुलाइएको छैन।

प्रिटोरीआ न्यूजको स्वामित्वमा रहेको इन्डिपेन्डेन्ट अनलाइनले (आइओएल) यसबारे सुरुमा समाचार प्रकाशित गरेको थियो।

आफ्नो समाचार सही रहेको उसले यसअघि बताएको थियो। उक्त अनलाइनले सिथोलेले जुन ७ मा स्टिभ बिको एकेडेमिक हस्पिटलमा उनले बच्चा जन्माएको उल्लेख गरेको थियो। प्रिटोरियाका स्वास्थ्यकर्मीहरूको तयारी कमजोर रहेको भन्दै उसले अस्पताल र स्वास्थ्य अधिकारीहरूले आफ्नो लापरबाही ढाक्न खोजेको उल्लेख गरेको थियो।

पछिल्लो विज्ञप्तिमा भनिएको छ, “यी आरोपहरू झुट्टा, अप्रमाणित र स्टिभ बिको एकेडेमिक हस्पिटलको राम्रो छवि धमिल्याउने उद्देश्यले आएका हुन्।” प्रिटोरिया न्यूजका सम्पादक पिट रामपेडी र आइओएल अनलाईनविरूद्ध कानुनी कारबाही गरिने पनि विज्ञप्तिमा भनिएको छ।

यसरी फैलियो समाचार

सिथोले आफ्ना जोडी टेबोहो सोतेत्सी र ६ वर्षमा जुम्ल्याहाहरूसँगै जोहानेसवर्ग नजिकै पर्ने खाउटेङ् प्रान्तको थेम्बिसामा बस्दै आएकी छन्। आइओएल अनलाइनका अनुसार रामपेडी जाने गिर्जाघरमा उनीहरू पनि प्रार्थनाका लागि जान्छन् र डिसेम्बरमा उनीहरूको चिनजान भएको थियो। मे महिनामा उनले उक्त जोडीको अन्तरवार्ता लिएको र त्यसमा उनीहरूले आठ जना बच्चा अपेक्षा गरिरहेको बताएको दाबी गरिएको छ।

एउटा फोटोमा सिथोलेको गर्भ एकदमै ठूलो देखिन्छ। प्रिटोरिया न्यूजले जुन ८ मा १० जना बच्चाको आश्चर्यजनक जन्मबारेको खबर प्रकाशन गरेको थियो जसमा सोतेत्सीलाई श्रोत उल्लेख गरिएको थियो।

पछि सोतेत्सीले सिथोलेबाट त्यस्तो सन्देश पाएको बताएका थिए। उनले कोरोनाभाइरसको निषेधाज्ञाका कारण आफूलाई अस्पताल जान नदिइएको उल्लेख गरेका थिए। रामपेडीले ह्वाट्सएप सन्देशलाई आधार मानेका थिए र अस्पतालबाट स्वतन्त्र पुष्टि गराएका थिएनन्।

बीबीसी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट