नेविसंघका पूर्व अध्यक्ष आले व्यावसायिक मेवा खेतीमा व्यस्त-Sutra News

नेविसंघका पूर्व अध्यक्ष आले व्यावसायिक मेवा खेतीमा व्यस्त

बिहिबार, १० असार २०७८

बिहिबार, १० असार २०७८

व्यास नगरपालिका–१३ निवासी वसन्त आलेले पोखरी भञ्ज्याङ नजिक व्यावसायिक रुपमा मेवा खेती थालेका छन् ।



नेपाल विद्यार्थी सङ्घ तनहुँका पूर्वअध्यक्ष आलेले ताइवान रेडलेडी ८७६ जातको मेवाको खेती गरेका छन् ।

करिब ९० रोपनी क्षेत्रफलमा करिब सात हजार मेवाको बिरुवा लगाउने योजना अनुरुप हाल दुई हजार बिरुवा ताइवानबाट ल्याएर लगाइएको आलेले बताए ।

गत वैशाखमा बिरुवा लगाएको तीन महिना भयो । छ महिनामा फल दिन शुरु हुन्छ । उनले भने, “फल राम्रो लाग्ने र बिक्रीको लागि १५ दिनसम्म टिकाउ हुने भएकाले यसतर्फ आर्कषित भएको हुँ ।”

भारतमा उत्पादन भएको मेवाको तुलनामा नेपालमा उत्पादन भएको मेवाको स्वादले सजिलै बजार लिन सक्ने विश्वास गरिएको उनी बताउँछन् ।

स्थानीय जातको मेवा दुई÷तीन दिन पनि टिकाउ नहुने र कुहिने भएकाले यस जातको मेवाको बिरुवा लगाइएको हो । उनले भने, “आफूले पनि पहिलो पटक लगाएकोले कस्तो फल दिन्छ हेर्न बाँकी रहेको छ ।”

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट