काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओली ‘भिलेन’ भएको बताएका छन् । बिहीबार संघीय संसद भवन बानेश्वरमा सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले प्रतिनिधिसभा विघटन गरेको र एकपछि अर्को असंवैधानिक कदम चालेकोमा प्रधानमन्त्रीको आलोचना पनि गरेका थिए । प्रधानमन्त्री ओलीका कारण देशलाई सुधार गर्ने शक्ति एकठाउँमा उभिएको भन्दै प्रचण्डले ओलीलाई धन्यवाद पनि दिएका छन् ।
उनले पाँच दलीय गठबन्धन अवसरवादी नभएको जिकिर गरेका छन् । ‘यो गठबन्धन अवसरवादी होइन । उहाँ (केपी ओली) ले गर्दा देशलाई सकारात्मक दिशामा लैजान चाहने शक्ति एक ठाउँमा छन् । यसका लागि ओलीजीलाई धन्यबाद, उहाँ भिलेन हो भन्ने जनताले थाहा पाए,’ प्रचण्डले भने ।