खानेपानी सुविधासँगै हट्यो सामाजिक द्वन्द्व-Sutra News

खानेपानी सुविधासँगै हट्यो सामाजिक द्वन्द्व

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

म्याग्दी- रघुगङ्गा गाउँपालिका–२ भगवतीस्थित राममन्दिरमा खानेपानी सुविधासँगै सामाजिक द्वन्द्व हटेर शान्ति र मेलमिलाप कायम भएको छ ।



राममन्दिरका सबै ७६ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी वितरण भएको छ । गाउँपालिकाले सञ्चालन गरेको भगवतीका सबै घरमा निजी धारामार्फत खानेपानी सुविधा विस्तार गर्ने योजना पहिलो पटक राममन्दिरमा कार्यान्वयन भएको हो ।

घरघरमा जडित निजी धारामा नियमितरूपमा पर्याप्त मात्रामा खानेपानी आपूर्ति हुन थालेपछि पानीकै कारणले हुने सामाजिक द्वन्द्व हटेर मेलमिलाप र सद्भाव कायम गर्न सहयोग मिलेको राममन्दिर टोल विकास संस्थाका अध्यक्ष कृष्णध्वज कार्कीले बताए ।

‘यसअघि सार्वजनिक धारा, कुवा, पँधेरा र खोल्साको पानी उपभोग गर्दै आएका थियौँ । पानीको स्रोत कम हुँदा विवाद र झगडा हुने गरेको थियो । विवादले हैरान भएको थियो,’ उनले भने, ‘घरघरका धारामा पानी आउन थालेपछि विवाद र झगडा हुन छाडेको छ ।’

रघुगङ्गाको रु ४९ लाख अनुदान सहयोग र स्थानीयवासीको रु १२ लाख बराबरको श्रमदानमा आयोजना निर्माण भएको हो । घट्टटोलको मुहानबाट ल्याइएको पानी दुई वटा छ हजार र दुई वटा पाँच हजार लिटर क्षमताका ट्याङ्कीमा सङ्कलन गरी आठ किलोमिटर पाइप लाइनमार्फत घरघरमा वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट