टोपबहादुरले पोखे दु:ख – हामी न माओवादीमा रह्यौं, न एमालेमा-Sutra News

टोपबहादुरले पोखे दु:ख – हामी न माओवादीमा रह्यौं, न एमालेमा

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफूहरू न माओवादीमा रहेको, न एमालेमा रहेको भन्दै दुखेसो पोखेका छन् । केही दिनअघि निर्वाचन आयोग पुगेका रायमाझीले दुवै पार्टीको केन्द्रीय कमिटीमा आफ्नो नाम नभेट्टाएपछि आफूनिकट नेता कार्यकर्तासँग दलबिहीन हुनुपरेको भन्दै गुनासो पोख्ने गरेका छन् ।



यसबारेमा सूत्रन्यूजले जिज्ञासा राख्दा उनले भने – ‘अहिले हामी माओवादीमा पनि छैनौं, एमालेमा पनि छैनौं । माओवादी त अब पार्टी नै रहेन तर जे जति एमाले बच्यो, त्यसमा हामी छैनौं ।’

सर्वोच्च अदालतले दुईसाता अघि एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको वैधतालाई खारेज गरिदिएको थियो । कर्णालीका सांसद प्रकाश ज्वालासहित ४ प्रदेश सांसदलाई पदमुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयविरुद्ध परेको रिटमा अदालतले दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटी सरह मान्न अस्वीकार गर्यो ।

अदालतले गत फागुन २३ गते पूर्व एमालेलाई ब्युँताउने फैसला गरेपछि ओलीले २८ गते एमालेको केन्द्रीय कमिटीलाई आयोजक कमिटीमा रुपान्तरण गरेका थिए । उक्त आयोजक कमिटीमा माओवादी केन्द्र छोडेर एमालेमा गएका २३ नेताहरूलाई सदस्य बनाइएको थियो ।

आयोजक कमिटीको वैधानिकतामै प्रश्न उठेपछि माओवादी केन्द्रबाट गएका नेताहरू न यताका न उताका भएका छन् ।

गत साता शुक्रवार पूर्व माओवादी नेताद्वय रायमाझी र प्रभु शाह अकस्मात निर्वाचन आयोग पुगे । उनीहरूले आफ्नो नाम कता छ भनेर हेरे । माओवादीले एमालेमा गएका नेताहरूलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको निर्णय आयोगमा विचाराधीन छ भने एमालेको महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले अवैधानिक भनिसकेको थियो ।

रामबहादुर थापा ‘बादल’, रायमाझी, लेखराज भट्ट, मणि थापासहितका २३ नेतालाई गत फागुन २८ गते ओलीले एमालेको केन्द्रीय कमिटीमा राखेको राजनीतिक घोषणा त गरे तर निर्वाचन आयोगमा अझैसम्म नाम पठाइएको छैन ।

आयोग स्रोतले सूत्रन्यूजसँग भन्यो – ‘माओवादी केन्द्रको पुरानो अभिलेखमा उहाँहरू कायमै हुनुहुन्छ तर उहाँहरूलाई हटाइएको निर्णय आयोगमा विचाराधीन छ । विधिसम्मत हटाइएकाले उहाँहरू माओवादी केन्द्रमा नरहने निश्चित जस्तै देखिएको छ । हामीले यही जानकारी दिएर उहाँहरूलाई पठाएका हौँ ।’

एमालेमा आफ्नो नामै नरहेको र माओवादी केन्द्रबाट नाम हट्ने प्रक्रियामा रहेकाले उनीहरूले आफूहरू दलबिहीन हुन पुगेको बल्ल थाहा पाए ।

तर रायमाझी भन्छन् – ‘हामी आयोगमा हाम्रो नाम हेर्न गएका होइनौं, घोषणा गरिएको निर्वाचनका सन्दर्भमा बुझ्न गएका थियौं । त्यही अनुसारको जानकारी लिएर फर्क्यौं ।’

बिहीवार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले पहिल्यै कारवाहीमा परेका रायमाझीसहितका नेता र दल छोडेका जनप्रतिनिधिहरूलाई पनि कारवाही गरेको निर्णय आयोगमा पठाएको छ ।

नेता लिलामणि पोखरेलले भने – यसअघि र आज कारवाहीमा परेका सबै नेता र जनप्रतिनिधिको विवरण हामीले निर्वाचन आयोगमा बुझाएका छौं ।

राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी परिवर्तन गर्ने जनप्रतिनिधिको पद नरहने उल्लेख छ ।

यी हुन् यसअघि कारवाहीमा परेका २३ नेताहरू :

१.रामबहादुर थापा

२.टोपबहादुर रायमाझी

३.लेखराज भट्ट

४. मणिचन्द्र थापा

५. प्रभु साह

६. टंक आङबुहाङ

७.पासाङ शेर्पा

८.ज्वाला शाह

९.टेकबहादुर बलमपाखी

१०.कमल चौंलागाईं

११.मनोज थापा

१२.विषमलाल अधिकारी

१३.लीलालबहादुर थापा

१४.दधिराम न्यौपाने

१५.गिरधरि लाल

१६.झपट बोहोरा

१७. दावा लामा

१८.चन्द्रबहादुर खड्का

१९.डम्बर बिष्ट

२०.गौरीशंकर चौधरी

२१.नवीन रोक्का

२२.धर्मराज रेग्मी

२३.दिनेश पन्थी

यी हुन् बिहीबारको बैठकले कारवाही गरेका जनप्रतिनिधिहरू :

१. रिनाकुमारी साह, मेयर मौलापुर नगरपालिका, रौतहट

२. सियाराम कुशवाह, प्रमुख  कटहरिया नगरपालिका, रौतहट

३. परनिया देवी, उपप्रमुख देवाही गोनाही नगरपालिका, रौतहट

४. गौरीशंकर जयसवाल, उपप्रमुख मौलापुर नगरपालिका, रौतहट

५. कान्ती देवी, उपप्रमुख फतुवाविजयपुर नगरपालिका, रौतहट

६. सीमलाल साह, उपप्रमुख माधव नारायण नगरपालिका, रौतहट

७. गीतादेवी शाह, उपप्रमुख युमनामाई गाउँपालिका, रौतहट

८. समतीलाल दास ताती, सदस्य  लहान नगरपालिका सिरहा

९. शेष फारुक, अध्यक्ष सम्सी गाउँपालिका, महोत्तरी

१०. सुरेश कुमार थावा, वडाध्यक्ष  चम्पादेवी गाउँपालिका९१ ओखलढुंगा

११. भागिरथी विष्ट, वडाध्यक्ष गौरीगञ्ज नगरपालिका९४, कैलाली

१२. शर्मानन्द भट्ट, वडाध्यक्ष  गोदावरी नगरपालिका९१ कैलाली

१३. पुरन विसी, वडाध्यक्ष बर्दगोरिया नगरपालिका९४, कैलाली

१४. छाया देवकोटा, उपप्रमुख  भजनी नगरपालिका, कैलाली

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट