पाल्पामा बाँदरको आतंक- वैकल्पिक खेतीको अभ्यास गर्दै किसान-Sutra News

पाल्पामा बाँदरको आतंक- वैकल्पिक खेतीको अभ्यास गर्दै किसान

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

पाल्पामा बाँदरले खेती खाएपछि कृषक हैरान छन् ।



दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा जिल्लाका अधिकांश स्थानमा बाँदरले खेती खाएर कृषकलाई दुःख दिने गरेको स्थानीयवासीले जनाएका छन् ।

कृषकले खेतवारीमा लगाएका अन्नबाली खाने तथा बाँदर कुरेर बसेका कृषकलाई आक्रमण समेत गर्न थालेको छ । जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास तथा जङ्गल नजिक रहेका बस्तीमा पसेर घरभित्रको अन्न समेत खाएर नष्ट पारेको कृषकको गुनासो छ ।

रामपुरको भुजात, आपचौर कटहरटार, एक्लेटार, प्याक्लुक, सेरा खटाङ, मलेङ, डिबिडी, बाहुनडाँडा, मौलाकालिका, सर्पराजलगायतका क्षेत्रमा कृषक बाँदरले खेती खाएपछि हैरान परेको गुनासो गर्छन् ।

रामपुर नगरपालिका—८ का कृषक कृष्णप्रसाद घिमिरेले लगाएको मकै नष्ट पारेपछि चिन्ता लागेको बताए ।

मकै छर्दा माटोमै बिउ निकालेर खाने र उम्रिएपछि उखेलेर खाने तथा मकै पाकेपछि पनि खाने गरेको उनले बताए । खेतमा लगाएका आलु, सिमी, बोडी, गोलभेँडा, प्याजलगायतका तरकारीदेखि आँप, लिचीलगायत फलफूल समेत बाँदरे नष्ट गरिदिएपछि किसनहरु हैरानमा रेका छन् । करीब एक सयको हाराहारीमा बाँदर आउने र पटकपटक लखेटे पनि दुःख दिन छाडेको छैन् ।

अहिले मकैलगायत बोडी, काँक्रा, भिन्डीलगायतका तरकारी खेतवारीमा छन् । अहिलेसम्म आलोपालो गरेर बाँदर बिहानदेखि बेलुकासम्म कुरेपनि खाना खाएका बेला मौका छोप्ने गरेको कृषक गोविन्दप्रसाद घिमिरेको भनाइ छ । केही खेतहरु बाँझै रहेको कृषक बताउँछन् ।

बगनासकाली गाउँपालिका पाल्पाले बाँदर नियन्त्रणका निम्ति बजेट विनियोजन गरेर बाँदर नियन्त्रण समिति गठन गरेपनि खासै प्रभावकारी हुन सकेन । रामपुर नगरपालिका पाल्पा बाँदर नियन्त्रणका लागी अनुरोध गर्दै दुई वर्षअघि नै कृषकले निवेदन दिएका थिए ।

नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सोही वर्ष नै बाँदर नियन्त्रणका निम्ति रु तीन लाख बजेट विनियोजन गरे पनि कसरी लाग्ने मेसो नभएका कारण सो रकम विकास निर्माणका काममा खर्च गरिएको जानकारी दिए ।

केहीवर्ष अघि बेसार खेती गरेका जानकी अहिले केरा बिक्रीबाट वर्षमा लाखौं आम्दानी गर्छिन ।

वर्षेनी बाँदरले दुःख दिन थालेपछि त्यसक्षेत्रका कृषकले मकै खेती गर्नै छाडेको कृषकले बताए।

रम्भा गाउँपालिका—३ अगाहा खोला क्षेत्रमा भने महिलाले विकल्पको रुपमा निमुवा खेती गर्न थालेका छन् । बाँदरले कागती तथा निमुवा त्यति नरुचाउने भएका कारण पनि यसबाट आम्दानी लिन थालेको उनीहरुको भनाइ छ ।

 यसअघि टोलटोलमा हेरालु राख्न सम्भव नभएको नियन्त्रण गरेर संरक्षण गर्न पनि नसकिएकाले र गाउँपालिकाले कार्यक्रम नै बनाएर वन्यजन्तु संरक्षण तथा नियन्त्रणको योजना बताएपनि त्यसको कार्यान्वयनमा समस्या भएको अध्यक्ष भण्डारीको धारणा छ ।

रम्भाका कृषकलाई शतप्रतिशत अनुदानमा धानको बिउ वितरण, पालिकाको केही क्षेत्रमा कृषकलाई कृषिमा प्रोत्साहित गर्दै बङ्गुरपालन, भैंसीपालन, तरकारी खेती, कुरिलो खेती तथा सूर्यमूखी खेती र फलफूल पकेट क्षेत्रका रुपमा विकास गरिनेमा जोड दिइएको पालिकाले जनाएको छ । पाल्पाको पूर्वखोलामा पनि बाँदरले खेती नष्ट पारेर हैरान पारेको क्षेत्रमा बेसार, अदुवालगायतका खेती गर्न पालिकाले प्रोत्साहित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट