काठमाडौं- नेपाली कांग्रेसकोे वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १४ औं महाधिवेश हुनेमा अझै शंका व्यक्त गरेको छ । १६ देखि १९ भदौमा हुने भनिएको महाधिवेनका विषयमा काठमाडौंको एक पार्टी प्यालेसमा छलफलका क्रममा सो पक्षले तोकिएकै समयमा महाधिवेशन नहुने होकी भन्ने शंका व्यक्त गरेको हो ।
विधि र विधानअनुसार क्रियाशील सदस्यताको अन्तिम टुंगो नलागेकोप्रति संस्थापनसँग असन्तुष्टि व्यक्त गर्दै आएको पौडेल पक्षले निष्पक्ष रूपमा तत्काल सदस्यता सम्बन्धी विषय टुंग्याउनुपर्ने बताएको छ । नेता अर्जुननरसिंह केसीले अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाहरू पनि क्रियाशील सदस्यताको विषयमा मापदण्डअनुसार जानुपर्ने भनाइ राखे ।
संस्थापन पक्षले अन्य पार्टीबाट आएकाहरूलाई कांग्रेसले बनाएको मापदण्डविपरीत क्रियाशील सदस्यता दिइएको भन्दै केसीले असन्तुष्टि व्यक्त गरे । शुक्रबारको बैठकमा यस विषयमा गम्भीर छलफल भएको बताउँदै नेता केसीले भने, ‘हामीले गम्भीरतापूर्वक छलफल गर्याै । यसलाई निष्पक्षतापूर्वक टुंग्याऔं भन्यौं ।’
नेता केसीले भदौमा जसरी पनि महाविधेशन हुनुपर्ने बताउँदै महाधिवेशन हुन नसके कांग्रेसमाथि ठूलो वैधानिक प्रश्न उठ्ने चिन्ता व्यक्त गरे । उनको भनाइमा पार्टीको वैधानिकता जोगाउन पनि समयमै महाविधेश गर्नुपर्छ ।
बैठकमा महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू प्रकाशमान सिंह, डा.शेखर कोइराला, डा.रामशरण महत, सुजाता कोइराला, डा.मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, दिलेन्द्र बडुलगायतका नेताहरू उपस्थित थिए ।
कांग्रेसमा दोस्रो तहका नेताहरूसमेत सभापतिको आकांक्षी भएपछि संस्थापन र इतर पक्षका शीर्षस्त नेताहरूलाई सकस परेको छ । संस्थापनमा वर्तमान सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि सभापतिका लागि आकांक्षी देखिएका छन् भने इतर समूहमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह र डा.शेखर कोइराला आकांक्षी छन् ।
कांग्रेसभित्र तेस्रो गुटको नेतृत्व गरिरहेका कृष्ण सिटौला पनि सभापतिको उम्मेदवारी दिने तयारीमा रहेको निकटस्रोतको भनाइ छ तर पछिल्लो समय सिटौला पौडेल समूहमा देखिएका छन् ।