कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्के-Sutra News

कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्के

आइतबार, १३ असार २०७८

आइतबार, १३ असार २०७८

सुर्खेत- कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमित जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ ।



कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा संक्रमण पुष्टि भएको विज्ञप्ति स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको सार्वजनिक गरेको छ । कूल संक्रमितमा २५ हजार १२९ अर्थात् (९१ प्रतिशत) ले कोरोना जितेर घर फर्केको निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिए । 

‘पछिल्लोे दुई सातायता कोरोना संक्रमणदर ओरालो लागेको छ । अहिले संक्रमितभन्दा निको हुनेको संख्या बढ्दै गएको छ’, निर्देशक डा.खड्काले भने, ‘नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण गत वैशाख १० गतेयता बढेको त्रासदी पनि कम हुँदै गएको छ । यसले संक्रमण जित्नेको आत्मबल बढेको पाएका छौँ ।’

आइसोलेशनमा बस्ने दुई हजार संक्रमणको सङ्ख्या घटेर एक हजार २३० मा पुगेको उनले बताए । उनका अनुसार मृत्युको सङ्ख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना पुष्टि भएको र संक्रमणबाट तीन व्यक्तिको मृत्यु भएसँगै हालसम्म यो प्रदेशमा ३०७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

कोरोना महामारीबाट यो प्रदेशमा सबैभन्दा ठूलो क्षति सुर्खेतलाई पुगेको छ । सुर्खेतमा हालसम्म १७७, सल्यानमा ५०, रुकुमपश्चिममा २९, दैलेखमा २२ र जुम्लामा आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट