काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित एक सय ४६ सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो ।
आज सुनुवाइको चौथो दिन पनि निवेदन पक्षका कानून व्यवसायीले बहस गर्ने भएका छन् । संवैधानिक इजलासले सुरुआति बहसका लागि निवेदक पक्षलाई १२ घण्टा दिएको छ । अब निवेदक पक्षको दुई घण्टा बाँकी छ ।
शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।
गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गरेकी छिन् । त्यसविरुद्ध देउवासहित एक सय ४६ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ३० रिट दायर भएका छन् ।