ओलीले यसरी पठाएका रहेछन् माधव नेपाललाई प्रधानमन्त्री बन्ने प्रस्ताव-Sutra News

ओलीले यसरी पठाएका रहेछन् माधव नेपाललाई प्रधानमन्त्री बन्ने प्रस्ताव

आइतबार, १३ असार २०७८

आइतबार, १३ असार २०७८

राजनीतिक बिट हेर्ने पत्रकारहरूसँगको अन्तरक्रियामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आइसकेको बताएका थिए ।



प्रधानमन्त्री केपी शर्मा ओलीको नामै नलिइकन नेपालले भनेका थिए, ‘माधव नेपाललाई प्रधानमन्त्रीको पद आइसक्यो, तर माधव नेपाल धोका दिने मान्छे होइन ।’

ओलीले प्रधानमन्त्रीको प्रस्ताव गरेको भएपनि नेता नेपालले विपक्षी गठबन्धनको साथ नछोड्ने स्पष्ट पारे । ‘जुन किसिमको प्रक्रिया छ, अब त्यहाँ फर्किन सकिन्न,’ नेता नेपालले भने ।

ओलीले एमालेको साँच्चैको एकताका लागि नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेका हुन् कि यसो ‘ट्राइ’ मात्र मारेका हुन्, त्यो त आउने दिनहरूमा खुल्दै जाला । आइतवार बसेको एमालेको स्थायी बैठकले माधव नेपाल कुनै हालतमा नफर्किने निष्कर्षसमेत निकालेको छ ।

‘प्रधानमन्त्रीको प्रस्ताव गर्दा पनि फर्किन्न भनेपछि हामीले के सोच्ने ?’ ओलीनिकट एक नेता भन्छन्, ‘उहाँलाई कांग्रेस र माओवादी प्यारो लागेको छ । हेरौं, त्यो गठबन्धनमा कतिदिन टिक्नुहुन्छ ।’

ओलीनिकट ती नेताले पार्टी एकता होस् भनेर नै नेता नेपाललाई प्रधानमन्त्री अफर गरेको बताए । ‘मिडिया कन्जम्सन या अन्य केही नियत राखेर माधवलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएको होइन,’ उनले भने, ‘उहाँले त्यस्तै सोच्नुभएको छ । एमालेको एकता जोगिन्छ भने जो प्रधानमन्त्री भए पनि हुन्छ भनेर ओलीले भन्नुभएको थियो ।’

नेता नेपालनिकट स्रोतले ओली आफैंले फोन गरेर प्रधानमन्त्रीको प्रस्ताव नगरेको बतायो । ‘तपाईंलाई प्रधानमन्त्री बनाएर भएपनि एमालेको एकता जोगाउनुपर्छ भन्दै २/३ जना नेताहरू निवास आएका थिए । माधव कमरेडले आफू ललीपपमा नभुल्ने भन्दै फिर्ता पठाइदिनु भयो । भएको त्यत्ति हो ।’

emale.jpeg

स्रोतका अनुसार गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरुङले ओलीलाई भेटेर पार्टी एकताका लागि माधव नेपाललाई प्रधानमन्त्री बनाउन किन सकिन्न भन्दै प्रश्न गरेका थिए ।

गुरुङलाई जवाफ दिंदै ओलीले भनेका थिए – ‘कुरा धेरै अगाडि बढिसकेको छ । उनी (नेपाल) एक्लै निर्णय गर्न सक्ने स्थितिमा छैनन् । त्यही पनि प्रस्ताव राखिहेरौं न त ।’

त्यसपछि गुरुङसहित अन्य २ नेता कोटेश्वर पुगे । उनीहरूले विपक्षी गठबन्धनसँग सम्बन्ध तोड्न निकै आग्रह गरेका थिए । अदालतमा पुगेको हस्ताक्षरका बारेमा बरू पछि मध्यमार्गी निर्णय गर्ने भन्दै तत्काल विपक्षी गठबन्धनसँग सम्बन्ध तोडेर बैठकमा आउन आग्रह गरे ।

योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे चारैजना नेताहरूले यसअघि पनि नेता नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।

अदालतले संसद पुन:स्थापना गरिदिने पक्कापक्की जस्तै रहेकाले त्यसपछि नेता नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न आफूहरू तयार रहेको उनीहरूले सुनाए । नेता नेपालले यो पनि ओलीको षड्यन्त्रकै एउटा पाटो हुन सक्ने भन्दै थप आश्वस्त हुन खोजे । ती नेताहरूले थप आश्वस्त हुन ओलीसँगै भेट्नुपर्ने बताएपछि नेता नेपाल थप कड्के – ‘म बारम्बार किन जानु तिनकहाँ ?’

नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेपालनिकट केही नेताहरू भने सकारात्मक देखिन्छन् । योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे चारैजना नेताहरूले यसअघि पनि नेता नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।

बिष्ट र भट्टराईले देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गरेका थिएनन् ।

203361397_1986823578152553_6547840256509751222_n.jpg

नाम उल्लेख नगर्ने शर्तमा नेपालनिकट एक नेताले सूत्रन्यूजसँग भने – ‘अध्यक्ष केपी ओली हुने र प्रधानमन्त्री माधवकुमार नेपाल बन्ने कुरा सकारात्मक छ । एमालेको एकता पनि जोगिन्छ भने माओवादीसँग एकता गर्ने बाटो पनि खुल्छ । तर प्रस्ताव कुन तहबाट आएको हो, त्यसको कार्यान्वयन कसरी हुन्छ लगायतका विषयमा गहन छलफल हुनु जरुरी छ ।’

प्रधानमन्त्री बन्ने शर्तमा नेता नेपालले विपक्षी गठबन्धन छोड्ने सम्भावना रहेको ती नेताले ठोकुवा गरे ।

तर नेता नेपाल आफैंले २०७५ सालको जेठ २ गते पार्टीलाई नफर्काएसम्म एमाले एक हुन नसक्ने टिप्पणी गरिरहेका छन् । शनिवारको अन्तरक्रियामा पनि नेता नेपालले भनेका थिए – ‘जुन किसिमको प्रक्रिया छ, उता फर्किन सकिन्न ।’

ओलीलाई यतिबेला विपक्षी गठबन्धनले निकै सकसमा परेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेकै माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाको कसिलो गठबन्धनले ओली अप्ठेरोमा परेको महसुस गर्दै गएका छन् ।

बालुवाटार आउजाउ गरिरहने नेताहरूले ओलीलाई विपक्षी गठबन्धन भत्काउन सुझाव दिने गरेका छन् । ओलीले नेता नेपाललाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव साँच्चैको हो कि ख्यालख्याल हो, त्यो भविष्यले नै बताउला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट