गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी दिएकी हुन् ।
मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय तथा अधिकारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्य मन्त्रालय मुख्यमन्त्री मातहत नै छन् । विनाविभागीय रहनुभएका मन्त्री हरिशरण आचार्य र राजीव गुरुङलाई जिम्मेवारी दिइएको छैन ।
२९ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले भने मुख्यमन्त्रीले तोकेको मन्त्रालयमा जान मानेका थिएनन् ।
उनले आफूले भौतिक मन्त्रालय नपाए मुख्यमन्त्री माग गर्ने बताएका छन् ।
माओवादी र कांग्रेसले ४/४ वटा मन्त्रालय लिएको भन्दै उनले आफूहरुसँग ३ मन्त्रालय हुनुपर्ने बताउँदै आएका छन् ।
गण्डकी सरकारले अहिलेसम्म मन्त्रीहरुको कार्यविभाजन गर्न सकेको छैन । सोही कुरामा अन्यौल भएका कारण केही दिनअगाडी मुख्यमन्त्रीसहितको टोली काठमाडौँ आएका थिए । उनीहरुले काँग्रेसका नेता शेरबहादुर देउवा लगायतका नेताहरुसँग भेटेर गएका थिए ।