

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली गत फागुन २८ गते गठन गरेको महाधिवेशन आयोजक कमिटी विघटन गर्न तयार देखिएका छन् । माधवकुमार नेपाल पक्षलाई थाहै नदिई केन्द्रीय कमिटी भंग गरेर ओलीले महाधिवेशन आयोजक कमिटी बनाएका थिए ।
आइतवार बसेको स्थायी कमिटी बैठकमा ओलीले माधवकुमार नेपाल समूह एकतामा आउने हो भने आयोजक कमिटी भंग गर्न आफू तयार रहेको सुनाएका थिए ।
बैठकले १६ गते आयोजक कमिटीको बैठक डाक्ने निर्णय गरेको छ । बैठकले आफैंलाई भंग गरेर साविक केन्द्रीय कमिटी ब्युँताउने सम्भावना रहेको ओलीनिकट एक नेताले बताए ।
सर्वोच्च अदालतले गत फागुन २१ गते साविक एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो । त्यसपछि ओलीले नेपाल समूहलाई बेवास्ता गर्दै एकलौटी निर्णय गर्ने गरेका थिए ।
कर्णालीका सांसदहरूलाई गरिएको कारवाहीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आयोजक कमिटीलाई संविधानले नचिन्ने अन्तरिम आदेश जारी गरेको थियो । अदालतको फैसलाअनुसार आयोजक कमिटी गैर-संवैधानिक छ ।
यद्यपि अदालतको आदेशविरुद्ध एमाले भ्याकेटमा गइसकेको छ । तर आफ्नो पक्षमा फैसला आउने नआउने टुंगो नभएका कारण ओली कमिटी नै भंग गर्ने निष्कर्षमा पुगेका हुन् ।
यसको संकेत नेता विष्णु रिजालले ट्वीटमार्फत् दिएका छन् ।
आइतवार एक ट्वीट गर्दै रिजालले भनेका छन् – ‘अब नेकपा (एमाले) मा ‘महाधिवेशन आयोजक कमिटी’ नामक अस्थायी संरचना रहँदैन । साविक केन्द्रीय कमिटीको बैठक बस्छ र पार्टीलाई त्यसैले अघि बढाउँछ । पार्टी एकताका लागि यस विकल्पलाई सबैले अधिकतम लचकताका साथ प्रयोग गर्नुपर्छ ।’