

नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार नभएको भन्दै आक्रोश पोखेका छन् ।
नेकपाको जिल्ला समिति काठमाडौँले आइतवार आयोजना गरेको रक्तदान कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै लामाले सहमतिअनुसार आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ नभएको गुनासो पोखेका हुन् ।
‘दुर्भाग्य, गत फागुन २१ गते सरकार र हाम्रो पार्टीबीच तीनबुँदे सहमति भएको थियो,’ लामाले भने, ‘धेरै कमरेडहरु अझै पनि जेलमा हुनुहुन्छ । छुट्नुभएको छैन । हाम्रो प्रतिवद्धताप्रति हाम्रो पार्टी इमान्दार छ ।’
उनले तीन बुँदे सहमति कार्यान्वयनमा राज्यले तदारुकता नदेखाएपछि राजनीतिक पार्टी, कार्यकर्ता र नागरिकहरु दुःखी रहेको बताए ।