काठमाडौं- नेपाली कांग्रेसले पूर्वनिर्धारित समयभित्रै १४ औं महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशिल सदस्यता वितरणलाई टुंगो लगाउने निर्णय गरेको छ । पार्टीको आन्तरिक समायोजन लगायत विभिन्न कारणले रोकिएको क्रियाशिल सदस्यता वितरण कार्य सबै जिल्लामा सुरु भइसकेकाले समयमै टुंगो लगाएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशन समयभित्रै सम्पन्न गर्ने भएको हो ।
आइतबार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले कार्यतालिकाअनुसार पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने विषयमा केन्द्रीत भएर छलफल अघि बढेको नेता रमेश लेखकले जानकारी दिए । नेता लेखकको भनाइमा बैठकमा पार्टीको वडादेखि केन्द्र सम्मका सबै अधिवेशन सम्पन्न गर्नका लागि पूर्व सर्तको रूपमा रहेका क्रियाशिल सदस्यताको छानविन, व्यवस्थापन र अन्तिम सूची तयार गर्ने काममा केन्द्रीत भएर छलफल भएको थियो ।
पार्टीको आन्तरिक समायोजनका कारणले बारामा, बर्दियामा पार्टी कार्यालयमा तालबन्दी भएकाले र लामो समयसम्म समायोजन सम्बन्धी विवाद रहेकाले सिन्धुपाल्चोक जिल्लामा क्रियाशिल सदस्यता वितरणको काम अघि बढ्न सकेको थिएन । ती सबै जिल्लामा अहिले क्रियाशिल सदस्यता वितरणको काम भइरहेको नेता लेखकले जानकारी दिए । नेता खरेलले कांग्रेसले जारी गरेको कार्यातालिकाकै समयमा स्थानीय वडादेखि जिल्ला तहसम्मका अधिवेशन, प्रदेश तहको अधिवेशन र महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशिल सदस्यताको काम सम्पन्न गर्ने विश्वास दिलाए ।
‘झण्डै ८ लाख २० हजार क्रियाशिल सदस्यताको इन्ट्री भइसकेको छ । अधिकांश स्थानको सदस्यता वेबसाइटमा सार्वजनिक भइसकेको छ । प्राप्त उजुरी र गुनासामाथि छलफल भइरहेको छ । केही कुरामा समान धारणा बन्न नसकेकाले ती विषयमा पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेर समाधान धारणा बनाउने प्रयास भइरहेको छ,’ नेता लेखकले भने, ‘नेपाली कांग्रेसले जारी गरेको कार्यातालिकाकै समयमा स्थानीय वडादेखि जिल्लातहसम्मका अधिवेशन, प्रदेशतहको अधिवेशन र महाधिवेशन त्यही तालिकामा हुने गरी क्रियाशिल सदस्यताको काम सम्पन्न गर्ने कुरामा अगाडि बढेका छौँ ।’
नेता लेखकका अनुसार २ जिल्ला बाहेकका जिल्लाबाट विभिन्न किसिमका उजुरी तथा गुनासाहरु आएका छन् । ती गुनासा तथा उजुरीलाई छलफल गर्दै टुंग्याउदै लगिएको उनले बताए । क्रियाशिल सदस्यहरु नै मतदाता पनि भएकाले महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशिल सदस्यताको विषय टुंगो लगाउने कार्य जटिल भएको नेता लेखकले बताए । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्मलाई तोकिएका छ ।