काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायब उपरीक्षक कोपिला चुडाललाई कोभिड संक्रमण भएको थियो । आइसोलेसनमा रहँदा उनले खाली समयमा सामाजिक सञ्जाल हेरिन् । युट्युबमा संक्रमितको मृत्यु भएको र पुर्नका लागि खाल्डो खनेको दृश्य देखेर आफू झसंग भएको उनले बताइन् ।
चुडाल प्रहरी अधिकृत त्यसमा पनि प्रविधिको प्रयोगबाट हुने अपराध अनुसन्धान गर्ने जिम्मेवार तहमा रहेको व्यक्ति हुन् । युट्युबलगायतका सामाजिक सञ्जालका सकारात्मक पक्ष हुँदाहुँदै कतिपयले त्यसको दुरुपयोग गर्दा धेरै नागरिकले अनाहकमा दुःख पाइरहेको उनको अनुभव छ ।
उनको शाखामा अहिले सबैभन्दा बढी चिठ्ठा, उपहार वा कुनै प्रोजेक्टका नाममा भइरहेको ठगीका घटना आइरहेको छ । दैनिक ५०/६० वटासम्म यस्ता घटना आइरहेको उनले बताइन् । उनले भनिन्, ‘नागरिक आफैं जसले जे भनेको छ, त्यो पत्याउनेभन्दा त्यसका बारेमा बुझेर मात्र व्यवहार गर्नुपर्छ ।’
सामाजिक सञ्जालले नै कहिले आत्महत्या दुरुत्साहनको कारण बनेको त कहिले महिलाको चरित्र हत्या गरेको प्रनाउ चुडालको भनाइ छ । वैदेशिक रोजगारीमा गएका श्रीमानका श्रीमतीलाई ‘श्रीमान् विदेश गएपछि श्रीमती यस्तो’ भन्दै शीर्षक हालेर चरित्र हत्या भइरहेको छ । उनले भनिन्, ‘यस्ता घटना नियन्त्रणका लागि आचारसंहिता बनाएर कडाइका साथ लागू गर्न आवश्यक छ ।’
युट्युब भनेको के हो भन्ने नबुझ्ने महिला र किशोरीको दुरुपयोग गरेर ‘भ्युज’ बढाउने काम गरिरहेको सुर्खेतकी पत्रकार टीका बिष्टले बताइन् । ग्रामीण क्षेत्रमा कतिपय महिलालाई एक/दुई हजार रुपैयाँ दिएर यसो बोल भनेर लगाएको समेत घटना भइरहेका छन् ।
केही समय पहिले राउटे समुदायको महिलामाथि भएको यौन दुव्र्यवहारमा पनि ती महिलालाई सामाजिक सञ्जाल र त्यसको असरका बारेमा जानकारी नभएको उनले बताइन् । उनले भनिन्, ‘युट्युबलाई कि त सामाजिक सञ्जाल मात्रै हो मिडिया होइन भन्नुपर्छ, कि त अनुगमनको दायरामा ल्याउनुपर्छ ।’
महिला अधिकारका क्षेत्रमा कार्यरत संस्था उमन फाउण्डेसनकी गीता न्यौपानेले केही युट्युबले राम्रो काम गरेपनि कतिपयले सस्तो लोकप्रियताका लागि महिलालाई पीडा दिइरहको बताइन् । कतिपय युट्युबले ग्रामीण क्षेत्रसम्म पुगेर धेरैका विचार र पीडा बाहिर ल्याउने काम गरिरहेको उनको भनाइ छ । उनले भनिन्, ‘यदि युट्युबले पीडितलाई थप पीडा दिएको अवस्थामा भने कडा कानून बनाएर कारवाही गर्नुपर्छ ।’
विराटनगरकी पत्रकार इन्दिरा भट्टराईले युट्युबले पीडितका परिवार र आफन्तलाई थप पीडा दिएको बताइन् । कुनै पनि घटनाका कारण पीडामा परेका आफन्तजनलाई उनीहरु घटना कहाँ भयो, कसरी, कुन समय भन्दै केरेर थप पीडा दिइरहेको बताइन् ।
चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष जीवन पराजुलीले कुनै पनि व्यक्तिले युट्युबले आफूलाई असर पुर्यनएमा उजुरी गर्न सक्ने व्यवस्था रहेको बताए । अहिले आमसञ्चार माध्यम फेसबुक र युट्युबबाट नै चलिरहेकाले यसलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिनुपर्नेमा उनको जोड छ ।
सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित कतिपय युट्युबले राम्रो काम गरिरहे पनि कतिपयले पीडितलाई थप पीडा दिएको बताउँछिन् । युट्युबमा महिलाको फोटो र नराम्रा शीर्षक प्रयोग गरेर चरित्र हत्या भइरहेको उनले औँल्याइन् ।
नेपाल दूरसञ्चार संस्थानका अध्यक्ष पुरुषोत्तम खनालले सञ्चार तथा सूचना प्रविधि मनत्रालयले अघि बढाएको मिडिया काउन्सिल ऐन बनेपछि युट्युबलगायत सामाजिक सञ्जाललाई नियमन र आवश्यक भएमा कारबाही गर्न सकिने बताए ।