काठमाडौं- कोपा अमेरिका फुटबलको आयोजक ब्राजिलको विजय यात्रामा ब्रेक लागेको छ । समूह बीअन्तर्गत नेपाली समयअनुसार सोमबार बिहान भएको खेलमा इक्वेडरसँग ब्राजिल १-१ को बराबरीमा रोकिएको हो ।
३७ औँ मिनेटमा एडर मिलिताओको गोलबाट ब्राजिलले अग्रता लियो । तर सो अग्रता लामो समय जोगिन सकेन । एन्जल मिनाले ५३ औँ मिनेटमा इक्वेडरका लागि बराबरी गोल फर्काएका हुन् ।
पछिल्ला १० खेलमा लगातार जित दर्ता गरेको ब्राजिलको विजयी यात्रामा ब्रेक लागेको हो । यो बराबरीसँगै इक्वेडरले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । ब्राजिल यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको थियो ।
सन् २०१९ को नोभेम्बर यताका सबै खेलमा जित दर्ता गरेर इक्वेडरसँग बराबरीमा रोकिएको ब्राजिलको क्वाटरफाइनलको प्रतिस्पर्धी थाहा भएको छैन । ब्राजिल र इक्वेडरको प्रतिस्पर्धी थाहा हुनका लागि समूह ए को खेल पर्खिनु पर्ने भएको छ ।