काठमाडौं- नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईले स्वतन्त्र सांसदको हैसियत माग गरेर वेदुराम भुसालले पार्टी र आन्दोलनमाथि गद्दारी गरेको बताएका छन् । भुसालले अदालतको फैसलाबाट आफू दलविहिन बनेको भन्दै स्वतन्त्र सांसदका रूपमा व्यवहार गर्न संसद सचिवालयमा पत्र पठाएका थिए । पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्ने भएपनि सांसद भई रहन सम्भव नहुने भट्टराईको भनाइ छ ।
‘राष्ट्रियसभा सदस्य बेदुराम भूसालले आफू स्वतन्त्र सांसद रहेको र अबदेखि मलाई यसै हिसाबको व्यवहार गर्नु गराउनु, दलको सांसदको हैसियतमा काटिदै आएको लेवी नकाट्नु भनेर संसद् सचिवालयमा पत्र पठाएका छन् । यो पत्रसॅगै उनले नेकपा एमाले परित्याग गरेको जनाएका छन् । पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन् तर सांसद भई रहन सम्भव हुँदैन,’ सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्र मध्ये एक रोज्न सक्ने प्रावधान हुन सक्ने भन्दै त्योभन्दा पृथक स्वतन्त्र सांसद हुन नसक्ने उनको दाबी छ । ‘त्यसबीचमा निर्वाचित राष्ट्रियसभाका सदस्यलाई दुईमध्ये एक रोज्न सक्ने प्रावधान हुन सक्छ, त्योभन्दा पृथक स्वतन्त्र सांसद हुन सक्दैन । सूर्य चिन्ह र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरुको मतबाट बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्छ ? भट्टराईको प्रश्न छ, यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ ।
उनले एमाले वरिष्ठ नेता माधव नेपाल माथि पनि प्रश्न उठाएका छन् । ‘कामरेड माधवकुमार नेपालले अहिलेसम्म आफूलाई नेकपा एमालेको वरिष्ठ नेता भन्दै आउनु भएको छ । अब वहाँ के भन्नु हुन्छ ? उहाँ के स्वतंत्र सांसदको नेता हुनुहुन्छ त ?,’ उनले लेखेका छन् ।