महोत्तरीको गौशालामा हात्ती आतंक, स्थानीय रातभर भागाभाग-Sutra News

महोत्तरीको गौशालामा हात्ती आतंक, स्थानीय रातभर भागाभाग

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

महोत्तरी- वनक्षेत्र नजिकको महोत्तरीको गौशाला नगरक्षेत्रमा जंगली हात्तीको आतंक बढ्दो छ । पछिल्लो पटक आइतबार गौशाला–१० को मरहा खोला छेउको बडहर्वा बस्तीका सात वटा घर जंगली हात्तीले भत्काएको छ । यो गौशालामा एक महिनाभित्रै हात्ती आतंकको दोस्रो घटना हो ।



आइतबार एउटै जंगली हात्तीले बडहर्वा बस्तीका केशवबहादुर सिञ्जाली, मानबहादुर विश्वकर्मा, मङ्गलबहादुर विश्वकर्मा, धनबहादुर खड्का, बिनामाया बस्नेत, प्रदीप खड्का र रेशमबहादुर खड्काको घर रातको समयमा जंगली हात्तीले भत्काएको हो । रातको समयमा हात्ती बस्ती पसेपछि भागाभाग भएको थियो । सर्वसाधारणले रातको समयमा भागेर ज्यान बचाएका थिए । यसअघि गत जेठ २३ गते जंगली हात्तीले गौशाला–१० कै विश्वकर्माचोकका तीनवटा घर भत्काएको थियो ।

त्यतिखेर तीनवटा हात्ती बस्ती पसेका थिए । पछिल्लो पटक भने एउटै हात्तीले सातवटा घर भत्काएको हो । सागरनाथ वन विकास परियोजनाको वनक्षेत्रबाट हात्ती बस्ती पसेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घर तोडफोड गरेर नोक्सान गरेको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगी स्थानीयवासीको मद्दतले हात्ती वनतिर लखेटिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट