जाजरकोट- शिवालय गाउँपालिकाका-७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब-इञ्जीनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह गरेको बता जिकिर गरेका छन् ।
उनले स्टिमेट गरेका अधिकांश योजना गतिलो नभएको गुनासो गरेको तर सब–इञ्जीनियर शाहीले आक्रमण गरेको भन्दै हल्ला गरेको बताए । वडाध्यक्ष खत्रीले आफ्नो वडाभन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा कार्यलयको प्राविधिक कार्यकक्षमै कुटपिट गर्नुका साथै गालीगलौज गरेर ज्यान लिने धम्कीसमेत दिएको शाहीले आरोप लगाएका छन् ।
शाहीको मुखमा समेत चोट लागेको बताइएको छ । ‘म आफ्नै कार्यकक्षमा काम गरिरहेको थिएँ, केही केटासहित एक्कासि वडाध्यक्ष आएर झम्टिहाल्नु भयो । मुक्का प्रहार गर्नुभयो, लछारपछार गर्नुभयो । गालीगलौजका साथै ज्यानै लिने धम्की दिनुभयो । त्यसपछि भागेर ज्यान जोगाएँ’, शाहीले टेलिफोनमा भने, स्थानीय प्रभावशाली नेता खत्री एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
सब-इञ्जीनियरमाथि भएको घटनाको शिवालयमा कार्यरत कर्मचारीले निन्दा गरेको छ । घटनाको विरोधमा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारीले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारवाही नभएसम्म ‘पेनडाउन’ गर्ने निर्णय गरेका छन् ।