काठमाडौं- फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार विहान सकिएको खेलको पेनाल्टी सुटआउटमा फ्रान्सका केलियन एमबाप्पेले मात्र गोल गर्न सकेनन् ।
उनको प्रहारलाई स्विट्जरल्यान्डका गोलकिपर यान सोमरले विफल पारिदिएका थिए । जससँगै स्विट्जरल्यान्ड अन्तिम आठमा पुग्न सफल भयो ।
त्यसअघि निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयको खेल ३-३ गोलको बराबरीमा सकिएको थियो । खेलको १५ मिनेटमा सेफेरोभिकले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाए ।
पहिलो हाफमा स्विट्जरल्यान्ड १-० ले अघि रहेको खेलमा फ्रान्सले दोस्रो हाफमा १८ मिनेट भित्रमा तीन गोल गर्यो । खेलको खेलको ५७ र ५९ मिनेटमा करिम बेन्जिमाले गोल गर्दा फ्रान्स २-१ ले अघि रह्यो । यस्तै ७५ मिनेटमा पाउल पोग्बाले फ्रान्सका लागि तेस्रो गोल गरे ।
स्विट्जरल्यान्डका सेफोरोभिकले ८१ मिनेटमा गोल गर्दा खेल ३-२ को स्थितिमा आयो। खेलको अन्तिम मिनेटमा गार्भ्रानोभिकले स्विट्जरल्यान्डका लागि बराबरी गोल फर्काए । त्यसपछि खेलमा ३० मिनेट अतिरिक्त समय थप गरिए पनि दुवै टिमले गोल गर्न सकेनन् ।
स्विट्जरल्यान्डले सन् १९३८ मा पछि मुख्य प्रतियोगिताको नकआउट चरणमा जित हात पारेको हो । अब सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।