काठमाडौं- स्पेनले सोमबार क्रोएसियालाई ५-३ ले हराएर अन्तिम आठको यात्रा तय गरेको छ । रोमाञ्चक र सनसनीपूर्ण खेलमा स्पेनका लागि अल्भारो मोरेटाले सयौं र मिखेल ओयारजबालले १ सयौं ३ मिनेटमा गोल गरे ।
हारले विश्वकप २०१८ को उपविजेता क्रोएसियाको चुनौती प्रतियोगितामा समाप्त भएको छ । एक गोलले पछाडि रहेको स्थिति उल्टाएर स्पेनले यो उत्कृष्ट जित निकालेको हो ।
निर्धारित समयको खेल ३-३ को बराबरीमा रहेको थियो । स्पेन ३-१ ले अगाडि रहेर जिततर्फ अग्रसर रहेको बेला क्रोएसियाका लागि मिसलाभ ओरिसिचले ८५ र मारियो पासालिचले इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरे ।
खेलको ५७ औं मिनेटमा सिसर अजपिलिक्वोटाले हेडबाट गोल गर्दै स्पेनलाई पहिलो पल्ट अग्रता दिलाए । फेरान टोरेसले निकालेको सटिक क्रसमा उनले नजिकको दूरीबाट हेड गर्दै बललाई पोस्ट चुमाएका थिए । टोरेसले ७६ औं मिनेटमा तेस्रो गोल गरे । क्रोएसियाले २०औं मिनेटमा अविश्वसनीय आत्मघाती गोलमा अग्रता लिएको थियो ।
ब्याक पासका रूपमा आएको बललाई स्पेनी गोलरक्षक उनइ सिमोनले आफ्नै पोस्टका दिशा दिएका थिए । बलमाथि नियन्त्रण लिने प्रयासमा उनको ध्यान त्यसबाट हटेको थियो र यसैक्रममा बलले उनलाई धोका दिएको थियो ।
युरो २०२० मा भएको यो नवौं आत्मघाती गोल हो । स्पेनका तर्फबाट बराबरी गोल ३८ औं मिनेटमा सम्भव भएको थियो । पाब्लो साराबिआले १० यार्डबाट शक्तिशाली प्रहार गर्दै गोल गरे ।