बागलुङ- दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका-६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका-१ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता छन् ।
घाँस काट्न जाँदा बेखबर भएका ७० वर्षीय बुढाथोकीको खोजीमा तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिए पनि अवस्था पत्ता लाग्न सकेको छैन ।
प्रदेश प्रहरी मातहत रहेको कुकुर शाखाबाट दुई तालिमप्राप्त कुकुरसहित प्रहरी खोजीकाममा जुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
घरदेखि २० मिनेटको दूरीमा रहेको खरबारीमा घाँस काट्न गएका बुढाथोकी अबेरसम्म घर नफर्केपछि परिवार, स्थानीयवासी र प्रहरी मिलेर तत्कालै खोजीमा लागेका थिए ।
चार दिन बित्दासमेत उहाँ नभेटिएपछि प्रदेश मुकामबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली झिकाएर परिचालन गरिएको हो । बुढाथोकी हराएको ठाउँमा नाम्लो, डोरी र काटेको घाँस भने भेटिएको थियो ।
यस्तै नियमित प्रातःकालीन भ्रमण (मर्निङवाक) मा निस्किएका ४६ वर्षीय सुनार गत जेठ २९ गतदेखि बेपत्ता छन् ।