काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरुको तीव्र भेटघाट बढ्दै गएको छ ।
केही दिन अगाडी छलफलमा जुटेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आज पनि छलफलको तयारीमा रहेका छन् ।
आज दिउँसो सिंह निवास चाक्सीबारीमा दिउँसो छलफल हुन लागेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले सूत्रन्युजलाई जानकारी दिए ।
आजको छलफलमा पार्टीको महाधिवेशनका विषयहरुमा छलफल हुने तिवारीले बताए । ‘आजको छलफलमा महाधिवेशनलाई मुख्य विषय बनाएर छलफल गरिनेछ, आज उम्मेदवारीको विषयमा कुनै छलफल हुँदैन ।’ उनले भने ।
आगामी भदौ १६ देखि १९ सम्मलाई महाधिवेशन मिति तोकिएको छ । महाधिवेशनका लागि कांग्रेसले केन्द्रदेखि गाउँ तहसम्म तयारी थालेको छ ।
विवादित रहेको क्रियाशील सदस्यताको टुंगो पनि छिट्टै लाग्ने कांग्रेसले जनाएको छ । शीर्ष नेताहरू केन्द्रीय नेतृत्वका लागि माग्नेदेखि आफ्नो पक्षमा माहोल बनाउन व्यस्त छन् । एकअर्कासँग सहयोग माग गरेका छन् ।
सभापतिको उम्मेदवारी दिने तयारीमा वर्तमान सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, डा.शशांक कोइराला, डा.शेखर कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंहसमेत छन् ।
७ असारमा निधि निवास नयाँ बानेश्वरमा निधिसहित प्रकाशमान सिंह र डा.शशांक कोइरालाबीच महाधिवेशकै विषय छलफल भएको थियो । त्यसको ४ दिपछि ११ असार शुक्रबार महाराजगञ्जस्थित डा.शशांक कोइरालाको निवासमा निधि, सिंहबीच नै छलफल भएको थियो ।