तेस्रो लहरको पूर्वतयारीमा जुट्दै बाँकेका अस्पताल-Sutra News

तेस्रो लहरको पूर्वतयारीमा जुट्दै बाँकेका अस्पताल

मंगलबार, १५ असार २०७८

मंगलबार, १५ असार २०७८

कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारीमा जुटेका छन् । बाँकेका मात्र नभई लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका समेत बिरामी उपचारका लागि यहाँ आउने भएकाले अहिलेदेखि नै आवश्यक पूर्वतयारी शुरु गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।



उनका अनुसार, तेस्रो लहरको कोरोना सङ्क्रमण फैलिनु अगावै आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनको पूर्वतयारीमा अस्पताल जुटेको छ ।

उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरको सम्भावित जोखिम र त्यसलाई न्यूनीकरण गर्नका लागि व्यवस्थित रुपमा पूर्वतयारी गर्न भेरी अस्पताल समेतका नाममा अन्तरिम आदेश दिएकाले पनि भेरी अस्पतालले पूर्व तयारीलाई अगाडि बढाएको छ । कोरोनाको दोस्रो लहरमा करिब एक हजार सङ्क्रमितको उपचार गरेको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा पनि तेस्रो लहरको पूर्वतयारी शुरु गरिएको अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले बताए ।

कोरोना सङ्क्रमणको दोस्रो लहरमा भाइरस निकै आक्रमक र तीब्र गतिमा फैलिएका कारण मानवीय क्षति पनि बढी भएको कोभिड अस्पतालका संयोजकसमेत रहेका उपनिर्देशक डा.श्रेष्ठले बताए । १ सय ३० शय्याको यो अस्पतालमा बिरामीको सङ्ख्या घट्दै गएको र तेस्रो लहरको पूर्वतयारी गर्न तत्कालका लागि कोभिड वार्ड बन्द गरिएको छ । अस्पतालमा उपचाररत चारजना बिरामीलाई भेरी अस्पतालमा पठाएसँगै अस्पतालका सबै शय्या खाली भएका छन् । तेस्रो लहरले बालबालिकालाई बढी असर पार्न सक्ने सम्भावना बढी रहेकाले यहाँका अस्पतालले सोही अनुरुपको पूर्वतयारी शुरु गरेको बताइएको छ । 

दोस्रो लहरमा अक्सिजनको समस्याले धेरै तनाव दिएकाले त्यसको व्यवस्थापनका लागि पाइपलाइन मर्मतसँगै विस्तार गर्नुपर्ने, सिप्याप मेसिन, अक्सिजन मास्क लगायतका उपकरण तयारी अवस्थामा राख्ने गरी पूर्व तयारीमा अस्पताल जुटेको छ । कोरोना दोस्रो लहरको सिकाइले अस्पतालमा शय्यादेखि भेन्टिलेटर लगायत भौतिक पूर्वाधारको पनि व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको अस्पतालका उपनिर्देशक डा.श्रेष्ठको भनाइ छ । “कोरोना भाइरस सङ्क्रमण तेस्रो लहरका बिरामीको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा भौतिक संरचनाको पूर्व तयारीमा हामी जुटेका छौं” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट