विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि गाउँपालिकाको कार्यालय अर्को जिल्लाबाट सञ्चालन-Sutra News

विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि गाउँपालिकाको कार्यालय अर्को जिल्लाबाट सञ्चालन

मंगलबार, १५ असार २०७८

मंगलबार, १५ असार २०७८

सिङ्गो गाउँपालिका नै विद्युत् र इन्टरनेट विहीन भएपछि गोरखाको एक स्थानीय तहले गाउँपालिकासँग जोडिएको छिमेकी जिल्ला धादिङबाट कार्यालय सञ्चालन गर्न शुरु गरेको छ ।  जिल्लाको धार्चे गाउँपालिकाले विद्युत् र इन्टरनेट बिना सेवा प्रवाह गर्न कठिन भएपछि आजदेखि धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको एक होटल भाडामा लिएर कार्यालय सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए । 



असार लागेसँगै लगातारको वर्षाका कारण आएको बाढी पहिरोले विद्युत्को पोल ढलेको हुँदा पालिकाको कार्यालय रहेको माछा खोलामा लामो समयसम्म विद्युत् सेवा अवरुद्ध हुँदै आएको छ । “विद्युत् सेवा र इन्टरनेटको अभावमा सेवा प्रवाह गर्न समस्या भइरहेको छ”, उनले भने, “आर्थिक वर्ष सकिनै लाग्दा सम्पन्न भएका योजनाको भुक्तानी गर्न समेत समस्या भएको छ ।” गत जेठको अन्तिम सातादेखि अवरुद्ध भएको विद्युत् सूचारु हुने अवस्था नभएपछि गाउँपालिकाले अस्थायी रुपमा स्थापना गरेर भएपनि कार्यालय सञ्चालनमा ल्याउन वाध्य भएको अध्यक्ष गुरुङको भनाइ छ । 

“कामको चाङ छ, केही गर्न नै पाइएको छैन”, गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङले भनिन्, “आइतबारदेखि कार्यालयका झिटीगुन्टा लिएर धादिङको त्रिपुरा सुन्दरीमा अस्थायी कार्यालय स्थापन गरि काम थालेका छौ ।” “माछीखोलामा नै बसेर कार्यालयको काम सम्पन्न गर्न सक्ने अवस्था नभएपछि अस्थायी रुपमा कार्यालय स्थापना गरेर भएपनि सेवाग्राहीलाई सेवा दिइरहेका छौं” उनले भने । असार लागेसँगै परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले आरुघाटदेखि माछीखोलासम्म जडान गरिएको राष्ट्रिय प्रशारण लाइनको विद्युत् पोल दर्जनौ स्थानमा ढलेका छन् । पोल ढलेका कारण विद्युत् सेवा प्रवाह गर्न समस्या भएको बताइएको छ । त्यस क्षेत्रमा तत्कालै विद्युत् प्रवाह गर्न सक्ने अवस्था नरहेको सल्यानटार विद्युत् प्रशारण केन्द्रले जनाएको छ । 

“बुढीगण्डकी नदीको बगरबाट माछा खोलासम्म पुरयाइएको विद्युत्को हाइटेन्सन लाइन बाढीका कारण नदीको बीच भागमा पुगेको छ”, गाउँपालिकाका अध्यक्ष गुरुङले भने, “भिरालो स्थानका केही पोलहरु पहिरोले कामै नलाग्ने गरी बिग्रिएको छ । विद्युत् र इन्टरनेट सुचारु हुनासाथ पुनः आफ्नै कार्यालयबाट सेवा प्रवाह गरिनेछ ।” नेपाली सेनाले सुचारु गरेको आरुघाट-माछीखोला सडक अन्तर्गत विभिन्न स्थानमा सोमबार राति पहिरो जाँदा अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा मान्बु हुँदै कासीगाउँ भएर मात्र माछीखोला पुग्नुपर्ने वाध्यता छ ।   

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट