सभामुख अग्नि सापकोटाले चौतर्फी संकट बेहोरिरहेको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।
उनले संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथि हमला भएको भन्दै संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताएका छन् ।
विज्ञप्तिमा उनले लेखेका छन्, ‘संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको छ ।’
‘यस वर्ष संसद् दिवस मनाउँदै गर्दा हामीले चौतर्फी संकट बेहोरिरहेका छौँ । कोभिड संकट जारी रहँदा यस बीचमा संघीय संसद, प्रतिनिधिसभाको दोस्रो पटक असंवैधानिक विघटन गरिएको अवस्था छ । गहिरिँदो राजनीतिक संकटका बीच हामी मौसमजन्य विपत्तिको पनि सामना गरिरहेका छौँ’, विज्ञप्तिमा उल्लेख छ ।