नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीलाई नेकपा एकता पूर्वको अवस्थामा फर्काउन नसकिने बताएका छन् ।
उनले २०७५ साल जेठ २ गते तत्कालीन एमालेले गरेको निर्णयलाई कार्यान्वयन गर्नुको विकल्प नरहेको भन्दै जेठ ३ बाट पार्टी चल्ने बताएका हुन् ।
बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले नेकपा एकता हुँदा आफू ५६ वर्षको रहेको र त्यसको तीन वर्षपछि पनि ५६ कै रहन नसकिने बताए ।
‘नेकपा बन्दा ५६ वर्षको म त्यसको तीन वर्षपछि पनि ५६ कै हुन त सक्दिन होला नि,’ प्रवक्ता ज्ञवालीले भने ।
पार्टीको असन्तुष्ट समूहले जेठ २ बाट पार्टी सुचारू हुनुपर्ने माग राखिरहेका बेला ज्ञवालीले तीन वर्षमा धेरै परिवर्तन भएको तर्क गरेका हुन् ।
बैठकले महाधिवेशन आयोजक कमिटी भंग गरेर साविककै केन्द्रीय कमिटी ब्युँताउने निर्णय गरेको छ । यससँगै असन्तुष्ट समूहका नेताहरूलाई गरिएको कारवाही फिर्ता भएको प्रवक्ता ज्ञवालीले बताए ।