मनाङमा बाढीले बगायो झोलुङ्गे पुल, गाउँ जोखिममा-Sutra News

मनाङमा बाढीले बगायो झोलुङ्गे पुल, गाउँ जोखिममा

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

मस्र्याङ्दी नदीमा आएको भीषण बाढीले ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित झोलुङ्गे पुल बगाएको छ ।



पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत विच्छेद भएको छ । बाढी पहिरोले शुरुवातमा मनाङको तल्लो भागमा क्षति पु¥याएको भएपनि निरन्तर वर्षा हुन नरोकिएपछि माथिल्लो भागतर्फ क्षति हुने क्रम बढेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

“बाढीले पहिले मनाङको तल्लो भागमा क्षति पु¥याएको थियो, अहिले माथिल्लो भागतर्फ सरेको छ । विपद्लाई रोक्न नसकिने रहेछ”, उनले भने, “निरन्तर वर्षा पनि भइरहेको छ, माटो गल्दै गएपछि पहिरोको जोखिम बढेको छ, बाढी पहिरोले केही बस्ती बस्ने ठाउँहरु बगाइसकेको छ भने केही भाग अति जोखिममा छन् ।”

माथिल्लो पिसाङ र तल्लो पिसाङ जोड्ने एक मात्र पुल बाढीले बगाएपछि एकापसमा सम्पर्क तथा आवतजावत रोकिएको ङिस्याङ गाउँपालिका—१ का वडाध्यक्ष भुजुङ गुरुङले जानकारी दिए । उनले भने, “जनताको सुरक्षाको व्यवस्थापन गर्नुपर्ने अभिभावक भएकोले केहीलाई सुरक्षित गराउनुपर्ने जिम्मेवारी एकातिर छ भने अर्कोतर्फ मेरै घर बाढीले आधा तानिसकेको छ ।”

 पिसाङको पुल क्षेत्रका १० घरपरिवार विस्थापित भएको ङिस्याङ गाउँपालिका—१ का वडासचिव पशुपति अधिकारीले जानकारी दिए ।

जोखिममा परेका ती घरपरिवारलाई माथिल्लो पिसाङमा सारिएको र त्यस क्षेत्रका सबै घरहरु जोखिममा रहेको उहाँको भनाइ छ । बाढीको जोखिम बढ्दै गएपछि मनाङवासी त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट