काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउने दिन नजिकिँदै छ । यतिखेर सिंगो पार्टी महाधिवेशनमय बनेको छ । भदौ १६-१९ गतेभित्र या भदौ महिनामा जसरी पनि महाधिवेशन गर्नै पर्छ । नगरे कांग्रेस पार्टीको वैधानिक अस्तित्व रहँदैन । नेतृत्वमाथिको होडबाजीले महाधिवेशन तोकिएकै मितिमा हुनेमा शंका छ । कांग्रेसको रामचन्द्र पौडेल पक्ष नै ढुक्क छैन ।
योबीचमा भने सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा र नेताहरू रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, डा.शशांक कोइराला, डा.शेखर कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला बढी नेताहरू दौडधुपमा देखिएका छन् ।
कतिले कांग्रेसमा जारी विरासतको राजनीतिलाई आधार बनाउँदै छन्, कतिले सभापति शेरबहादुर देउवालाई असक्षम सावित गर्दै आफ्नो दुनो सोझ्याउने रणनीतिमा देखिएका छन् । कांग्रेसका युवा नेताहरूलाई भने एजेण्डा र उद्देश्यविना नै नेतृत्व हत्याउन तम्सिएका छन् ।
महाधिवेशन मिति घोषणापछि धेरै नेताको काम सभापति शेरबहादुर देउवाको आलोचना गर्ने भएको छ । कारण, उनीहरू आफैं नेतृत्वमा पुग्ने लालसामा छन् । त्यसका लागि नीति, सिद्धान्त र संगठनको बहसभन्दा सजिलो माध्यम बनेको छ, सभापति देउवालाई असक्षमको पगरी गुथाउन ।
तर पार्टीमा नेतृत्व मात्रै परिवर्तन हुँदैनमा विरासतको राजनीति अन्त्य नहुने तर्क गर्छन्, कांग्रेसका एक युवा नेता । सूत्रन्युजसँग उनले भने, ‘जसजसले नेतृत्वको दावेदारी गरिराख्नु भएको छ, चाहे शेरबहादुर दाइले आफैं हुनु भन्नुहुन्छ, चाहे रामचन्द्र दाइकै कुरा होस्, त्यो पुस्ताको अभिभावकीय भूमिका मात्रै बाँकी छ, कार्यकारी हुन उहाँहरू सक्नुहुन्न ।’ उनले पार्टीका बुढा नेताहरूले अहिलेको सामना गर्न नसक्ने दाबीसमेत गरे । ‘हामी सक्छौं, भनेर उहाँहरूको दलिल के हो दर्ज के हो ?’ उनले प्रश्न गरे ।
पार्टीका दोस्रो वरियताका नेताले पेश गरेको दलील पनि अन्योलनमा पर्ने खालको देखिएको छ । कांग्रेसमा अहिले पनि नीतिभन्दा नेतृत्व प्रधान छ । संगठन कसरी जोगाउने भन्ने मुद्दामा नेताहरू बहस गर्दैनन्, पार्टी वैचारिक रूपमा कसरी सवल तुल्याउने भन्ने बहस कार्यकर्ता तहमा त हुनै छाड्यो नै केन्द्रीय समितिको वैठ पनि यस्ता विषयले प्राथमिकता पाउँदैनन् ।
नेतृत्वमा उनीहरूको अर्कमण्यताका कारण कार्यकर्ताम निराशा उत्पन्न हुने अवस्था आइसकेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । उनले भने, ‘घरपरिवारमात्रै बाँडिनुपर्छ भन्ने उद्देश्य हिजोदेखि नै थिए । शशांक दाइ उठ्ने, शेखर दाइ उठ्ने, उहाँहरूकै परिवारमा तीन जना तीन पट्टी फर्केको अहिले हामी देख्न सक्छौं । पार्टीको महामन्त्री हुनुभएको छ, सभापतिमा उठ्छु भन्नु फरक होइन । गुटगत रूपमा शेरबहादुर देउवाभन्दा उहाँहरूकै गुट बलियो तरिकाले लैजानुएको हो भन्ने मलाई लाग्छ ।’
केन्द्रमा भाँडभैलो हुँदा कांग्रेसका गाउँ, इकाई, क्षेत्र र प्रदेशका संरचना लथालिङ्ग छन् । अहिलेसम्म पनि महाधिवेशन सम्पन्न गर्न आवश्यक क्रियाशील सदस्यताको टुंगो लागिसकेको छैन । केन्द्र नै गुट–उपगुट र कोटरीले कमजोर हुँदा गत निर्वाचनमा कांग्रेसले अप्रत्यासित हार बेहोर्यो ।
कांग्रेसका कतिपय नेताहरूले कांग्रेसले न संसद (अहिले विघटन) मा प्रभावकारी भूमिका खेल्न सकेको, नत नेतृत्वले पार्टीभित्रै भूमिका खेल्न सकेको भन्दै आक्रोशित बनेका छन् । गाउँदेखि केन्द्रसम्ममा रहेका नेताहरूमा पार्टी र नेतृत्वप्रति चर्को असन्तुष्टि छ । जुनसुकै पार्टीको महाधिवेशनमा चुनावीे एजेण्डाले चर्चा पाउनु अस्वभाविक होइन ।
नेतृत्वअनुसार नीति निर्माण हुने भएकाले पनि असल र सक्षम नेतृत्व स्थापित होस् भन्ने चाहना कार्यकर्ताले राख्नु सान्दर्भिक हो । तर नेतृत्वमा स्थापित हुनका लागि नयाँ एजेण्डा नल्याउने र पूरानै एजेण्डा र अर्कोलाई होच्याएर आफू अलग्गिने प्रवृत्ति पछिल्लो समय कांग्रेसमा मौलाएको छ ।