मोटाउन र दुब्लाउन रूचाउने अनौठो रोग: रोकथाम कसरी गर्ने ?-Sutra News

मोटाउन र दुब्लाउन रूचाउने अनौठो रोग: रोकथाम कसरी गर्ने ?

बिहिबार, १७ असार २०७८

बिहिबार, १७ असार २०७८

मोटाउन र दुब्लाउन रूचाउने अनौठो रोग किशोरीहरूमा देखा पर्न थालेको छ । मनोविद् गोपाल ढकालकाअनुसार यो मानसिक रोग हो । यसलाई एनोरेक्सिया नर्भोसा (खानपान सम्बन्धि समस्या) भनेर बुझिन्छ । विशेष गरी यो रोग १३ देखि २० वर्ष उमेरका किशोरीहरूमा देखा पर्दछ ।



हालसालै अमेरिकामा गरिएको अध्ययनअनुसार ५.२ प्रतिशत किशोरीहरूमा एनोरेक्सिया देखिएको छ । २० वर्ष उमेर पूरा गरिसकेकालाई भने यो समस्या कम रहेको छ ।

समस्या

१३ देखि २० वर्षको उमेर बालकबाट किशोराअवस्थामा प्रवेश गर्ने उमेर हो । यस अवधिमा केटाकेटीमा मानसिक, शारीरिक र बौद्धिक विकास तीव्र रूपमा हुन्छ । केटाहरू भन्दा केटीहरू शारीरिक विकासप्रति धेरै सचेत र संवेदनशील हुन्छन् ।

किशोरीहरू खानपान, रहन-सहनको सिको गर्न थाल्छन् । कतिपय अवस्थामा खाना खाएपछि मोटाइन्छ र आफू कुरूप देखिन्छु भन्ने भय उनीहरूमा हुन्छ । सोही कारण समयमा खाना नखाने, डाइटिङ गर्ने, मोटोपन घटाउने अभिप्रायले बजारमा उपलब्ध औषधिको जथाभावी सेवन गर्दछन् । आफूलाई राम्री देखाउने कोशिस गर्छन् । यस्तो क्रियाकलापले शरीर लगायत सम्पूर्ण जीवनमा प्रभाव पर्न सक्छ ।

पौष्टिक आहारयुक्त खाना नखाई डाइटिङ गर्नाले स्वास्थ्यमा समस्या पर्छ । शरीरमा पानीको मात्रा कम भएर छाला सुख्खा हुने, रक्तचापमा कमी, धेरै चिसो महसुस हुने, कपाल झर्ने, यौन इच्छामा कमी, कुपोषण, हार्मोनमा गडबढी, रजस्वलामा गडबढी, मानसिक तथा बौद्धिक विकासमा बाधा, डिप्रेशन हुन्छ । शरीरलाई चाहिने भिटामिनको कमी हुुन्छ । शरीरप्रतिको लापबाहीले मृत्यु समेत हुन सक्छ ।

रोकथाम

धेरै मानिसलाई यो रोग लागेको थाहा हुँदैन । यस विषयमा सावधानी अपनाउनु जरुरी छ । रोगबाट बच्न किशोरीहरूले व्यवहारमा परिवर्तन ल्याउनु पर्छ । किशोरीहरूले शरीरलाई आवश्यक पर्ने खनिज पर्दाथको नियमित सेवन गर्नुपर्छ । आफूलाई पातलो देखाउने अभिप्रायले धेरै डाइटिङ गर्नु हुँदैन । डाइटिङ गर्न आवश्यक लागे उमेर, तौल र उचाईमा ध्यान दिनुपर्छ । खाद्य विशेषज्ञसँग परामर्श लिन सकिन्छ । बजारमा पाइने विभिन्न किसिमका खानेकुरा खानु हुँदैन । चिल्लो, सुख्खा, चिनीयुक्त खानाबाट टाढा रहनुपर्छ ।

जथाभावी औषधि प्रयोग नगर्ने

मोटोपन तथा दुब्लोपन घटाउने बढाउने विभिन्न सिकिमका औषधि बजारमा पाइन्छन् । चिकित्सकको सल्लाहविना त्यस्ता औषधिको प्रयोग गर्नुहुँदैन । औषधि सेवनमा सचेत रहनुपर्छ । औषधिको गलत सेवनले ज्यानै जान सक्छ । रोगका लक्षण थाहा नहुँदा जोखिम बढ्दै जान्छ । रोगथामका लागि मनोपरामर्श तथा मनोचिकित्सकीय उपचार नै अन्तिम विकल्प हो । रोगले अत्यधिक असर गर्न थालेपछि पारिवारिक सहयोग, सहानुभूति र सद्भावको आवश्यकता पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट