कोरोना महामारी विरुद्ध खटेका फ्रन्टलाइनरको सम्मानमा विभिन्न कलाकारहरुले आकाशेपुलमा बनाएको चित्र काठमाडौँ महानगरले मेटाइदिएपछि नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।
काँग्रेसले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारको उक्त कदमलाई विरोध गरेको हो ।
कलाकारहरुले काठमाडौँको रत्नपार्कस्थित आकाशेपुलमा कोरोनाविरुद्धको लडाईमा अग्रमोर्चामा रहेर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापनमा खटिएका व्यक्ति र सरसफाइकर्मीको सम्मानमा चित्र बनाएका थिए ।
‘स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरुको सामुहिक चित्र दुई साता अघि काठमाडौंको एक पर्खालमा निर्माण गरिएको थियो। युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको चित्रलाई एकाएक नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।