काठमाडौं- बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न क्षेत्रको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । तराई क्षेत्र बढी प्रभावित भए पनि अन्य क्षेत्रमा समेत जनधनको क्षति पुर्याएको छ । कतिपय ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ । मनसुनयन्य विपदमा परेर मानिसको मृत्यु भएको र केहीको उद्धार गरिएको छ ।
राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार पछिल्लो १८ दिनमा विपद्सम्बन्धी १५८ वटा घटना भएका छन् । उक्त घटनामा परी बिहीबारसम्म ३३ जनाको मृत्यु भएको र ३० जना बेपत्ता भएको विवरण प्राप्त भएको केन्द्रका प्रमुख दीलकुमार तामाङले जानकारी दिए ।
सबैभन्दा धेरै सिन्धुपाल्चोकमा पाँच जनाको मृत्यु भएको छ भने डोटीमा चार, रोल्पामा तीन तथा प्युठान, रौतहट, तनहुँ र चितवनमा दुई/दुई जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
यसैगरी, बाजुरा, गोरखा, पाल्पा, अर्घाखाँची, कास्की, काभ्रे, कालीकोट, सप्तरी, बझाङ, पाँचथर, रोल्पा, दाङ र सिन्धुलीमा एकरएक जनाको ज्यान गएको छ । विपद्जन्य घटनामा परेर ३० जना घाइते भएका छन् । अहिलेसम्म ४७४ घरमा पूर्ण क्षति भएको छ भने ११२ घरमा आंशिक क्षति पुगेको छ ।
हालसम्म ३६ सरकारी कार्यालय, ६ सामुदायिक भवन र विद्यालय, २२ झोलुङ्गे पुल, १३ वटा पक्की पुल, १३ हाइड्रो पावर, पाँच साना पुल र २ वित्तीय संस्थामा क्षति पुगेको छ ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भारी वर्षा भइरहेकाले बाढी पहिरो र डुबान हुन सक्ने जनाउँदै जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् ।