तनहुँ- गत मंगलबार मंगलबारदेखि परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिरोमा परी दुई घरपरिवारका बाख्रा भैँसी मरेका हुन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका-९ ढोरफिर्दी निवासी टेकबहादुर महतको गोठमाथिबाट आएको पहिरोले १० बाख्रा र एक भैँसी मरेको छ ।
त्यसैगरी सोही वडास्थित चेतबहादुर भुजेलको घर माथिबाट आएको पहिरोले नौ बाख्रा र एक भैँसी पुरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । पहिरोले पुरिएका ५५ वर्षीय खगिमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेललाई जीवितै उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनीहरूको अहिले पोखरास्थित गण्डकी मेडिकल अस्पतालमा उपचार भइरहेको छ ।
पृथ्वीराजमार्ग खुलाइ पनि डुम्रे–बेँसीशहर र खैरेनी–भिमाद खण्डमा पहिरो अवरुद्ध भएपछि हटाउने प्रयास भइरहेको उनले बताए । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिराले दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट सोही जडाका करिब ३० वर्षीय सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए । सरस्वती थापाका ससुरा, सासु र देवर घाइते भएका छन् ।