सकियो एमालेको केन्द्रीय कमिटी बैठक : केके निर्णय भए ?-Sutra News

सकियो एमालेको केन्द्रीय कमिटी बैठक : केके निर्णय भए ?

शुक्रबार, १८ असार २०७८

शुक्रबार, १८ असार २०७८

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । अर्को बैठक शनिवार ३ बजे बस्ने गरी आजको बैठक सकिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका हुन् ।



बैठकले महाधिवेशन निर्धारित मिति भन्दा अगावै सार्न सक्ने सम्भावना रहेको ज्ञवालीले बताए । एमालेले आगामी मङ्सिर २ देखि ६ सम्म महाधिवेशन गर्ने निर्णय यसअघि गरेको थियो ।

बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता ज्ञवालीले भने – ‘आजको बैठकले पुनः एकपटक सबै नेता तथा कार्यकर्तालाई एकताका लागि योगदान गर्न आग्रह गर्ने निर्णय गरेको छ । पार्टीभित्र देखिएका समस्याका कारण जनतामा निराशा पनि छ र विपक्षीमा उत्साह छ ।’

उनले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस भनेर राष्ट्रपति र सर्वोच्च अदालतसम्म पुगेका आफ्ना नेताहरूलाई सोमवार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको बताए ।

‘हस्ताक्षर सोमवार ५ बजेसम्म फिर्ता लिन निर्देशन दिएका छौं,’ उनले भने, ‘त्यसको कुनै वैधता नहुने पनि जानकारी गराउने निर्णय गरेका छौं । त्यस्तै आजको बैठकले खोप ल्याएर महामारी उन्मुलन गर्न सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ ।’

उनले आजको बैठकको वैधानिकतामाथि प्रश्न उठाउन नमिल्ने तर्क गरे । ‘महाधिवेशनबाट निर्वाचित कमिटीको वैधानिकता हुँदैन भने कहाँ जाने वैधानिकता खोज्न ?’ ज्ञवालीको प्रश्न थियो । उनले आजको बैठक अधिकारिक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट