माधवसँग भेटेर ओलीले गर्न खोजेका थिए सहमतिमै अलग बाटो हिंड्ने प्रस्ताव-Sutra News

माधवसँग भेटेर ओलीले गर्न खोजेका थिए सहमतिमै अलग बाटो हिंड्ने प्रस्ताव

शुक्रबार, १८ असार २०७८

शुक्रबार, १८ असार २०७८

शुक्रवार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर भेट्न आग्रह गरेको प्रसंग ल्याए । बालुवाटारनिकट स्रोतको दाबीअनुसार ओलीले नेता नेपालसँग भेटेर फाइनल कुरा गर्न चाहन्थे ।



तर नेता नेपालले ओलीको भेट्ने प्रस्ताव अस्वीकार गरे । आजको बैठकमा ओलीले भने – ‘मैले भेटौं भनेर हिजो बेलुकी माधवलाई फोन गरें । २०-२५ मिनेट कुरा गरें । भेटौं भन्दा उहाँले मान्नुभएन । मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ भन्नुभयो ।’

ओलीले नेता नेपाललाई किन भेट्न चाहेका थिए त ? बालुवाटार निकट स्रोत भन्छ – ‘यस्तो घिसिपिटी पाराले भएन । एकपटक फाइनल कुरा गर्न चाहनुहुन्थ्यो प्रधानमन्त्रीले । सँगै जान सकिने भए जाउँ, नत्र सहमतिमै बाटो अलग गरौँ भन्न खोज्नुभएको थियो । तर प्रधानमन्त्रीको प्रस्ताव माधवले अस्वीकार गर्नुभयो ।’  

पछिल्लो समय ओलीले नेता नेपाल कुनै हालतमा एकता गर्न नचाहने पात्रका रूपमा बुझ्न थालेका छन् । उनले आफूनिकटस्थ नेताहरूलाई भन्ने गरेका छन् – ‘माधव कुनै हालतमा आउँदैनन् । उनका लागि शक्ति खर्च गर्न बेकार छ । बरू उता लागेको जो जो साथीहरू छन्, सबैसँग इन्डिभिजुअल डील गरौँ । आउने आउँछन्, नआउने छोडिन्छन् ।’

गत असार १४ गते त ओलीले नेता नेपाललाई सक्नेसम्म सरापे । उनले नेपाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुच्छरसमेत भने । ओलीले नेपालमाथि लाज पचेको, नैतिकता नभएको जस्ता शब्दहरू प्रयोग गरेका थिए ।

उनले नेता नेपाललाई गाली गर्नुको कारण पनि यही हो । नेता नेपाल एमालेमा फर्किन्नन् भन्नेमा ओली ढुक्क छन् । आज बसेको केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै हस्ताक्षर गर्ने २३ जना निवर्तमान सांसदहरूलाई २ दिनको अल्टिमेटम दिएर हस्ताक्षर फिर्ता लिन चेतावनी दिएका छन् ।

यदि दुई दिनभित्र हस्ताक्षर फिर्ता नलिने हो भने एकताको ढोका बन्द भएको घोषणासरह हुने ओलीको चेतावनी थियो । तर यता माधव नेपाल समूहका कतिपय नेताहरू भने ओलीको चेतावनीले नतर्सिने बताएका छन् ।

नेत्री रामकुमारी झाँक्रीले हस्ताक्षर फिर्ता गर्न दिइएको अल्टिमेटम अर्थहीन भएको बताएकी छन् । ‘अदालतले जुन कमिटीलाई अवैध भनिदिएको छ, त्यो कमिटीले गरेको निर्णय हामीले किन मान्नुपर्ने ?’ झाँक्रीको प्रश्न छ ।

नेपाल समूहका अर्का एक नेताले पनि हस्ताक्षर कुनै हालतमा फिर्ता नहुने बताएका छन् । उनले सूत्रन्यूजसँग भने – ‘यो अदालतमा चलिरहेको मुद्दालाई कमजोर पार्ने र आफ्नो पक्षमा फैसला गराउने चालबाजी मात्र हो । हामीले हस्ताक्षर फिर्ता लिन्नौं, बरू ओलीले प्रतिनिधि सभा विघटन गर्नु गल्ती थियो भनेर सार्वजनिक रूपमा माफी माग्नुपर्छ ।’

तर नेपाल समूहका गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतका केही नेताहरू भने ओलीप्रति नरम र लचक देखिदै गएका छन् । एमालेको एकतालाई जसरी पनि अक्षुण राख्नुपर्छ भन्दै उनीहरू निरन्तर छलफलमा छन् । छलफलको नेतृत्व उताबाट सुवास नेम्वाङले गर्दै आएका छन् ।

एकातिर नेपाल समूहलाई छलफलमा व्यस्त गराइरहने र अर्कोतिर एकलौटी ढंगले अघि बढ्ने रणनीति तय गरेका ओलीले दिएको अल्टिमेटमभित्र हस्ताक्षर फिर्ता हुने सम्भावना देखिएको छैन ।

आज सकिएको केन्द्रीय कमिटीको बैठक शनिवार ३ बजे बालुवाटारमै बस्नेछ । तर शनिवारको बैठकमा पनि नेपाल समूह उपस्थित हुने संकेत देखिएको छैन । आज बैठकअघि ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका नेताहरूले सहमतिमा बैठक नबोलाइएको भन्दै बैठकमा उपस्थित नहुने बताएर फर्किएका थिए ।

नेपाल समूह बैठकमा उपस्थित नभएपनि आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी भएका थिए । उनले एकता प्रक्रियाको नेतृत्व आफूले गर्न पाउनुपर्ने मागसमेत ओलीसमक्ष राखे । यसमा ओली सकारात्मक देखिएको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

तर बाहिर एकताका लागि प्रयास गरिरहेको देखाउने गरेका ओलीले जेठ २ मा फर्किने नेपाल समूहको मागलाई भने बेवास्ता गरेका छन् । नेपाल समूह ओलीको एकलौटी देखेर आजित बनेको छ । नेता वेदुराम भुसालले त राष्ट्रिय सभामा बोल्दै आफू स्वतन्त्र सांसद रहेकोसमेत बताएका थिए ।

दशौँ महाधिवेशन आयोजक कमिटी भंग गरेर पुरानै केन्द्रीय कमिटी ब्युँताएपछि परिस्थिति आफूअनुकूल हुने ओलीको विश्लेषण छ । अदालतले महाधिवेशन आयोजक कमिटी अवैध भएको भन्दै कर्णालीका सांसदहरूलाई गरिएको कारवाही उल्ट्याइदिएको थियो । पुनः केन्द्रीय कमिटी ब्युँताएपछि गरिने कारवाही वैध हुने ओलीको आंकलन छ । केन्द्रीय कमिटी ब्युँतिएपछि आफूहरूमाथि पुनः कारवाहीको सिलसिला चल्ने हो कि भन्नेमा नेपाल समूह द्विविधाग्रस्त देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट