काठमाडौं- नेपाली कांग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख देखिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले देशभरिबाट प्रक्रिया पूरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटाएको हो ।
आज भएको सहमतिमा नवीकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्यको छनौटको प्रक्रिया हेरी छानविन समितिले निर्णय गर्न सक्ने गरी मापदण्ड पनि बनाएको छ ।
यस्तै विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा आएकाहरुमा जिल्लादेखि सबै प्रक्रिया पूरा गरेर आएको नाम स्वीकृत गर्ने पनि सहमति भएको छ ।
प्रदेश जिल्ला र वार्डस्तरमा विवाद नै कायम रहेको क्रियाशील सदस्यको नाममा एकपटक सहमति जुटाउन प्रयास गर्ने सहमति हुननसके छानविन समितिले आवश्यक प्रक्रिया र कागजपत्र हेरेर निर्णय गर्न सक्ने पनि बैठकमा सहमति जुटेको छ ।
बैठक पछि बोल्दै क्रियाशील सदस्य छानविन समितिका संयोजक रमेश लेखकले लामो समयदेखि विवादित बनेको क्रियाशील सम्बन्धी विषयले निकास पाएको बताए । यो निर्णयसँगै क्रियाशील सदस्य छानविनसम्बन्धी कुनै समस्या नरहेको र केही दिनमा छानविनको काम सम्पन्न गर्न सकिने संयोजक लेखकले जानकारी दिए ।