झापा- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले झापाका नदीहरुमा आज बाढी आउने पूर्वानुमान गर्दै नदी आसपासमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
मेची, कनकाई, बिरीङ, निन्दा र रतुवा नदीमा बाढीको सम्भावना रहेको विभागले जनाएको छ । नदी आसपासमा बाढी आउने र होचा स्थानमा डुबान हुन सक्ने बताइएको छ । भद्रपुरको चन्द्रगढी विमानस्थलस्थित वर्षा मापन उपकरणले झापामा २४ घण्टामा ११६ दशमलब ६ मिलिमिटर वर्षा भएको रेकर्ड गरेको छ ।
यसैगरी सोही अवधिमा इलामको सोक्तिम टी इस्टेटमा ५५ दशमलब ८ मिलिमिटर र माइपोखरीमा ५० दशमलव २ मिलिमिटर र कन्याम टी इस्टेटमा ५० मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । झापामा सबैभन्दा बढी बाढीको जोखिम कन्काई नदी आसपासमा रहेको छ ।