काठमाडौं- चेक गणतन्त्रलाई २-१ ले हराउँदै डेनमार्कले युरोकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । अजरवैजानको बाकुस्थित रंगशालामा भएको खेलमा थोमस डिलानेले पाँचौ मिनेटमै डेनमार्कलाई अग्रता दिलाएका थिए । ४२ मिनेटमा कास्पर डोलवर्गले डेनमार्कको अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा चेक गणतन्त्रले गोल फर्कायो । उसका लागि ४९ मिनेटमा प्याट्रिक सिकले गोल गरे । जारी प्रतियोगितामा यस गोलसँगै सिक सर्वाधिक गोलकर्ताको सूचीमा क्रिष्ट्रियानो रोनाल्डोसँगै पहिलो स्थानमा उक्लिए । दुबैले प्रतियोगितामा ५–५ गोल गरेका छन् ।
तर, सिकले टोलीलाई सेमिफाइनल लग्न भने सकेनन् । बराबरी गोलका लागि अन्त्यसम्म प्रयास गरेपनि चेक गणतन्त्र सफल हुन सकेन । डेनमार्कले सेमिफाइनल खेलमा इङल्यान्ड र युक्रेनबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।