उच्च रक्तचाप नियन्त्रण गर्न कस्तो जीवनशैली अपनाउने ?-Sutra News

उच्च रक्तचाप नियन्त्रण गर्न कस्तो जीवनशैली अपनाउने ?

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

काठमाडौं- मुटुले हाम्रो शरीरका हरेक अंगमा रगत पुुर्याउने काम गर्छ । मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ । माथिको रक्तचापलाई ‘सिस्टोलिक’ र तलको रक्तचापलाई ‘डायस्टोलिक’ भनिन्छ ।



ह्याम्स अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषेज्ञ डा.दिवाकर शर्माकाअनुसार उच्च रक्तचाप नाप्ने विभिन्न गाइडलाइन रहेको छ । गाइडलाइन देशअनुसार फरक-फरक हुने गरेको छ । तर हाम्रो लागि भने अस्पताल वा चिकित्सकको निगरानीमा रक्तचाप नाप्दा माथिको १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ । सामान्य रक्तचाप १२०/८० भन्दा कम हुनपर्छ ।

आजभोलि प्रविधिको विकाससँगै घरमै उच्च रक्तचाप नाप्ने मेसिन उपलब्ध रहेको छ । उक्त मेसिनको मूल्य २ वा ३ हजार पर्छ । घरमा र चिकित्सकको निगरानीमा उच्च रक्तचाप नाप्दा नतिजा थोरै तलमाथि देखाउँछ । घरमै नाप्दा रक्तचाप कम नै देखाउँछ । घरमा नाप्दा माथिको १३० वा सो भन्दा बढी र तलको ८५ वा सो भन्दा बढी भएको अवस्थामा उच्च रक्तचाप भएको बुझ्नुपर्छ ।

कुन उमेरमा समस्या ?

पहिलेको समयमा नेपालमा ४० वर्ष कटिसकेपछि उच्च रक्तचापको समस्या देखिन्थ्यो । त्यसैगरि ५० देखि ६० वर्ष कटेकामध्ये आधा जनसंख्यामा उच्च रक्तचापको समस्या छ । तर अहिलेको अवस्थामा विभिन्न अध्ययन तथा अनुसन्धानअनुसार १८ वर्ष माथिका व्यक्तिमा कम्तिमा २५ प्रतिशत उच्च रक्तचापको समस्या रहेको छ ।

जीवनशैली कारक तत्व

उच्च रक्तचाप नितान्त हाम्रो जीवनशैलीसँग सम्बन्धित रहेको छ । पहिलेको तुलनामा अहिले हाम्रो जीवनशैलीमा धेरै नै परिवर्तन आएको छ । पहिले मानिसहरु मेहनती, ऊर्जावान थिए । खेतबारीमा काम गरेर नै शारीरिक व्यायाम हुन्थ्यो । तर अहिले सबै जना शहरतिर बसाई सरे ।

खेतबारीको कामभन्दा बाह्य काममा बढी समय बिताउन थाले । कामले गर्दा स्वस्थकर खाना तथा शारीरिक व्यायाममा कमी आउन थाल्यो । जसकारणले व्यक्तिमा उच्च रक्तचापलगायत विभिन्न स्वास्थ्य समस्या देखिन थाले ।

मान्छेहरु शरीरलाई फाइदा गर्ने खानेकुराभन्दा चिल्लो, पिरो, मद्यपान र धुम्रपान जस्ता वस्तुको प्रयोग बढी गर्न थाले । हरियो सागपात, फलफूल, गेडागुडी, प्रोटिनयुक्त खानेकुरा कम मात्रामा खान्छन् ।

कारण

धुम्रपान सेवन,

मोटोपन,

शारीरिक गतिविधिमा कमी,

मदिराको सेवन,

नुनिलो खानेकुरा र 

मानसिक तनाव । 

लक्षण

उच्च रक्तचापमा भएका व्यक्ति धेरै कममा लक्षण देखिन्छन् । त्यसैले उच्च रक्तचाप भएको थाहा पाउने सबैभन्दा विश्वासिलो तरिका नै नियमित रुपमा रक्तचाप नापिरहनु हो । लक्षण भएको खण्डमा टाउको दुख्ने, रिङ्गटा लागेजस्तोे, मुटु हल्लेजस्तो, छातीमा भारीपन हुने हुन्छ ।

 नियन्त्रणमा राख्न के गर्ने ?

कतिपय व्यक्तिमा वंशाणुगत कारणले पनि उच्च रक्तचाप हुने गरेको छ । आफूलाई के कारणले भएको त्यस तर्फ ध्यान दिनुपर्छ । उच्च रक्तचाप हुन नदिन स्वस्थकर जीवनशैलीलाई अपनाउनु पर्छ । हाम्रो खानपान र जीवनशैली सामान्य बनाउनु पर्छ ।

धुम्रपानको सेवन पूर्णरुपमा बन्द गर्ने,

तौललाई नियन्त्रणमा राख्ने वा तौल बढी भएको खण्डमा १० प्रतिशत घटाउने,

प्रतिदिन १ वा दुई घण्टा हिड्नुपर्छ,

मदिरा सेवन नगर्ने,

नुनको मात्रा जतिसक्दो कम गर्ने र 

मानसिक तनाव कम लिने वा तनावलाई व्यवस्थापन गर्नुपर्छ ।

उपचार

उच्च रक्तचापलाई साईलेन्स किलरपनि भनिन्छ । धेरै व्यक्तिले उच्च रक्तचापको कारणले ज्यान गुमाउने गरेका छन् । उच्च रक्तचापको समस्या बढ्दै गए ब्रेन ह्यामरेज, मिर्गौलामा खराबी, हृदयघात, आँखामा समस्या तथा रगतका नशाहरु च्यापिने हुनसक्छन् ।

उच्च रक्तचापको व्यक्तिको जीवनशैली बाहेक अन्य रोग जस्तै मुटुरोग, मिर्गौला, आँखामा समस्या, मुटु सुन्निएको छ, छैन यस्ता समस्यालाई ध्यानमा राखी उपचार गरिन्छ । उच्च रक्तचापलाई नियन्त्रणमा राख्न औषधी पनि प्रयोग गर्नुपर्छ । तसर्थ उच्च रक्तचापको समस्याबाट बच्न हामीले हाम्रो दैनिकी देखि लिएर जीवनशैलीलाई नै व्यवस्थित गरेर अगाडी बढ्नुपर्छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट