नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध अझै गाढा छ – राजदूत डा खतिवडा-Sutra News

नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध अझै गाढा छ – राजदूत डा खतिवडा

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले अमेरिकी सरकारले कोभिडविरुद्धको लडाइँमा नेपाललाई पु¥याएको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।



उनले भने,“सत्तरी वर्ष अगाडि नै अमेरिकीहरू नेपालमा गएर शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आयोजनामा स्वयंसेवी भावले गर्नुभएको सहयोग स्मरणीय छ ।”

 शनिबार न्यूयोर्कमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय समितिको दशौँ वार्षिक साधारणसभा तथा पदस्थापन समारोहमा राजदूत खतिवडाले अमेरिका र नेपालबीच राजनीतिक र कूटनीतिक तवरको भन्दा पनि नागरिकस्तरको सम्बन्धसमेत सुदृढ रहेको स्मरण गर्दै नेपाली मूलका अमेरिकी नागरिकलाई त्यसमा थप योगदान गर्न अपिल गरेका छन् ।

खतिवडाले गैर आवासीय सङ्घको भावनालाई सम्बोधन गर्दै नेपालको संविधानले आर्थिक,सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरेको बताए ।

‘एक पटकको नेपाली सधैँका लागि नेपाली’ भन्ने भावनालाई सम्बोधन गर्दै संविधानमा गरिएको व्यवस्थाअनुसार एनआरएनको मुद्दा र अपेक्षलाई ऐनमार्फत सम्बोधन गरिने उनले उल्लेख गरे ।

अमेरिकामा रहेका नेपालीहरूले यहाँको मूलधारको राजनीतिमा समेत सहभागिता जनाएर निर्वाचित भई सेवा गर्ने अवसर पाउनु महत्वपूर्ण उपलब्धि भएकोप्रति राजदूत खतिवडाले खुशी व्यक्त गरे ।

खतिवडाले गैरआवासीय नेपालीले आफूले हासिल गरेको बौद्धिक सीप र ज्ञानलाई मातृभूमिको विकासका लागिसमेत प्रदान गर्न आग्रह गरे ।

कार्यक्रममा मेरिल्याण्ड जनरल एसेम्बलीका डेलिगेट ह्यारी भण्डारीले अमेरिका अवसरको भूमि भएकाले नेपाली मूलका अमेरिकीहरूलाई सहजपनबाट बाहिर आएर अमेरिकाको मूलधारमा समाहित हुन आग्रह गरेका छन् । उनले अमेरिकामा रहेका नेपालीहरूले अझै धेरै काम गर्न बाँकी नै रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट