हस्ताक्षर फिर्ताको ‘अल्टिमेटम’ घर्किदै गर्दा एमालेमा दौडधूप तीव्र, कोटेश्वर पुगे ओली पक्षका नेताहरू   -Sutra News

हस्ताक्षर फिर्ताको ‘अल्टिमेटम’ घर्किदै गर्दा एमालेमा दौडधूप तीव्र, कोटेश्वर पुगे ओली पक्षका नेताहरू   

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्दै एमालेमा असन्तुष्ट रहेका २३ सांसदले गरेको हस्ताक्षर भोलि (सोमवार) ५ बजेसम्म फिर्ता गर्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका थिए ।



शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकमा हस्ताक्षर फिर्ता गर्न निर्देशनसमेत दिइयो । तर असन्तुष्ट समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालले चेतावनीको कुनै ‘टेरपुच्छर’ लगाएका छैनन् ।

उनले ओलीको चेतावनीलाई ‘यस्ता चेतावनी कति आयो कति गयो’ भन्ने हिसाबले लिएका छन् ।

नेपाल समूहले हस्ताक्षर फिर्ता लिनु भनेको आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्नु हो भनिसकेको छ । हस्ताक्षर फिर्ता लिने समय घर्किदै गर्दा एमालेका नेताहरूको दौडधूपसमेत तीव्र बनेको छ ।

आज (आइतवार) बिहान अर्थमन्त्रीसमेत रहेका एमालेका उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र सुवासचन्द्र नेम्वाङ नेपालनिवास कोटेश्वर पुगेका छन् ।

कोटेश्वरमा ओली पक्षका नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न हस्ताक्षर फिर्ताको कुनै विकल्प नरहेको बताउँदै नेता नेपाललाई कन्भिन्स गर्ने प्रयास गरेका थिए । ओलीले पनि भनेका थिए – ‘सर्वोच्चको फैसला आउनुअघि नै हस्ताक्षर फिर्ता नगर्नेहरू एमालेका नेता कार्यकर्ता होइनन् ।’

तर नेता नेपाल भने अदालती प्रक्रियामा गइसकेकाले कुनै हालतमा हस्ताक्षर फिर्ता नहुने बताइसकेका छन् । ‘हामी हस्ताक्षर फिर्ता लिंदैनौं,’ नेपाल समूहका एक नेताले सूत्रन्यूजसँग भने, ‘बरू ओलीले प्रतिनिधि सभा विघटन गलत थियो भनेर सार्वजनिक रूपमा माफी माग्नुपर्छ ।’

पछिल्लो समय न त हस्ताक्षर फिर्ता हुने, न त ओलीले प्रतिनिधि सभा विघटन गलत थियो भनेर सार्वजनिक माफी माग्न सक्ने स्थिति बनेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट