घरझगडा गरेर हिँडेका पर्वतका एक पुरुष छ दिनदेखि बेपत्ता-Sutra News

घरझगडा गरेर हिँडेका पर्वतका एक पुरुष छ दिनदेखि बेपत्ता

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका एक पुरुष विगत छ दिनदेखि सम्पर्कविहीन भएका छन् ।



स्थानीयवासी ६७ वर्षीय बालकृष्ण विक गत असार १५ गतेदेखि सम्पर्कविहीन भएका हुन्।

श्रीमान–श्रीमती मात्रै बस्दै आएका उनीहरुबीच असार १४ गते सामान्य घर झगडा भएको थियो ।

भोलिपल्ट १५ गते रोपाइँ गर्नका लागि बालकृष्णले खेताला पनि खोजेका थिए । बिहान करिब ८ बजेतिर घरबाट निस्कनुभएका उहाँ अहिलेसम्म पनि कसैको सम्पर्कमा नआएको स्थानीयवासी शिक्षक सुरेन्द्र शर्मा गौतमले जानकारी दिए ।

“उहाँ मिजासिलो र खुशी देखिने मान्छे १५ गते बिहान घरबाट निस्कनुभएको रहेछ । झगडाको रिस मरेपछि घर फर्किनुहोला नि भनेको अहिलेसम्म पनि आउनुभएको छैन”, शिक्षक गौतमले भने, “छोरा विदेशमा र बुहारी पोखरामा हुनुहुन्छ । घरमा रहनुभएकी उहाँकी श्रीमतीलाई समस्या भएको छ ।” कसैले कुश्मा नगरपालिकाको दोबिल्लास्थित सन्तोषचोकमा देखेको बताएको भए पनि उहाँ कता जानुभयो भन्ने खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बालकृष्ण बेपत्ता रहेको र खोजी गरिदिन भनी परिवारको तर्फबाट निवेदन आएलगत्तै खोजी भइरहेको भए पनि उहाँको अवस्थाबारे पत्ता लाग्न नसकेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट