संकटमा एमाले एकता : हस्ताक्षर फिर्ता नगर्ने नेपालको चट्टानी अडान, कारवाहीबाटै तह लगाउने ओलीको तयारी-Sutra News

संकटमा एमाले एकता : हस्ताक्षर फिर्ता नगर्ने नेपालको चट्टानी अडान, कारवाहीबाटै तह लगाउने ओलीको तयारी

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

आफूनिकट नेताहरूलाई कोटेश्वर पठाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई हस्ताक्षर फिर्ता लिन लगाउने अध्यक्ष ओलीको रणनीति ‘बेकामे’ बनेको छ । आइतवार बिहान ओलीनिकट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलले हस्ताक्षर फिर्ता गर्न गरेको आग्रहलाई नेता नेपालले ओलीको ‘जालझेलपूर्ण षड्यन्त्र’को नाम दिएका थिए ।



स्रोतका अनुसार ओलीले प्रतिनिधि सभा विघटन गरेकोमा सार्वजनिक माफी मागेपछि मात्र नेता नेपालले हस्ताक्षर फिर्ताका बारेमा सोच्न सकिने जवाफ दिए ।

यससँगै ओलीनिकट नेताहरू कोटेश्वरबाट निराश भएर फर्केका छन् । उनीहरूले त्यहींबाट ओलीलाई फोन गरेर नेपाल नमानेको ब्रिफिङ गरे । बालुवाटारबाट ओलीले अब थप प्रयास नगर्ने र कारवाही गरेरै तह लगाउने भन्दै उनीहरूलाई चिन्ता नलिन आग्रह गरे ।

शुक्रवार बसेको केन्द्रीय कमिटीको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेका एमालेका २३ नेताहरूलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन चेतावनी दिएका थिए । त्यसपछि नेता नेपालले आफ्नो पक्षका नेताहरूलाई बोलाएर छलफल गरे ।

छलफलमा हस्ताक्षर फिर्ता गर्न लगाएर ओलीले नयाँ जालझेलपूर्ण षड्यन्त्र गर्न खोजेको भन्दै हस्ताक्षर फिर्ता नलिने निर्णय सुनाए । यससँगै एकताका पक्षमा लागेका दुवैतिरका केही नेताहरू निराश बनेका छन् । पार्टीलाई एक गराउने उद्देश्यका साथ ओलीका तर्फबाट पौडेल, नेम्वाङ र पोखरेल लागेका छन् भने नेता नेपालका तर्फबाट गोकर्ण बिष्ट, घनश्याम भुसाल र योगेश भट्टराई लागिरहेका छन् ।

आइतवार कोटेश्वरमा घनश्याम भुसाल पहिल्यैदेखि नेता नेपालसँग छलफल गरिरहेका थिए । त्यसपछि हामी आउँछौँ भन्दै अर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेलले फोन गरे ।

ओलीको प्रतिनिधि भएर गएको उक्त टोलीले नेता नेपाललाई हस्ताक्षर फिर्ता गरेर एकताको सन्देश दिन आग्रह गरेका थिए । ‘हामीले उहाँलाई भेटेर दुई नेताहरू मिल्नुस भनेर आग्रह गरेका छौं,’ नेम्वाङले भने, ‘तपाईंलाई अध्यक्षले भेटेर कुरा गर्न खोज्नुभएको छ । एकताको सन्देश दिनकै लागि पनि दुवै नेताहरू भेटेर कुरा गर्नुस् भनेर गरेको आग्रहमा उहाँले कुनै प्रतिक्रिया दिनुभएन ।’

तर स्रोतका अनुसार नेता नेपालले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको फैसला नआएसम्म आफूहरूले कुनै निर्णय गर्न नसक्ने बताएका थिए ।

‘हस्ताक्षर फिर्ता लिन चेतावनी दिएर ओलीले नयाँ षड्यन्त्र गर्न खोजेका छन्,’ नेता नेपालको भनाइ उदृत गर्दै स्रोतले सूत्रन्यूजसँग भन्यो, ‘त्यसबारेमा हामीलाई थाहा छ । तपाईंहरूले एकोहोरो एकता भनेर हुने भए त अहिलेसम्म भइहाल्थ्यो नि । बरू प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेकोमा सार्वजनिक रूपमा माफी माग्न लगाउनुस उनलाई ।’

नेता नेपालले आफू विपक्षी गठबन्धनबाट फर्किन नसक्ने बताएका थिए । ‘संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धन बनेको हो,’ नेता नेपालले भने, ‘यस्ता गठबन्धनहरू पहिला पनि बनेकै हुन् । लोकतन्त्र र संविधान रक्षाको मामिलामा बनेको गठबन्धन टुट्नु भनेको लोकतन्त्र कमजोर हुनु हो । त्यसको परिकल्पना मैले गरेको छैन ।’

नेता नेपालको जवाफ सुनेर निराश भएका ओलीनिकट नेताहरू फेरि पनि वार्ताको ढोका बन्द नगर्न आग्रह गर्दै कोटेश्वरबाट निस्किए ।

नेता नेपालले हस्ताक्षर फिर्ता नलिने ‘चट्टानी’ अडान देखाएपछि र ओलीले कारवाही गर्ने चेतावनी दिएपछि नेकपा एमालेको एकता तत्काललाई टरेको ठानिएको छ ।

देउवालाई प्रधानमन्त्री बनाउन भन्दै नेपाल समूहका २३ जनाले सशरीर उपस्थित भएर सर्वोच्च अदालतमा रिट हालेका थिए । ओलीले एकताका लागि त्यो हस्ताक्षर फिर्ता गर्न चेतावनी दिंदै आएका छन् । उक्त मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा चलिरहेको छ ।

केही दिनमा फैसला आउने गरी फास्ट ट्रयाकमा सुनुवाइ भइरहेको मुद्दालाई प्रभावित पार्ने गरी ओलीले चेतावनी दिएको नेता नेपालको ठहर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट