काठमाडौं- प्रतिनिधिसभा विघटनविरूद्ध परेका ३० वटा रिटमाथिको बहस आज सकिँदैछ । आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएपछि रिट निवेदक पक्षका अधिवक्ताहरुले जवाफी बहस सुरु गरेका छन् ।
उनीहरुका लागि छुट्याइएको तीन घण्टाको समयमा अब दुई घण्टा मात्रै बाँकी छ । यो दुई घण्टामा आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफी बहस गर्नेछन् ।
उनीहरूको बहस सकिएपछि अदालतका सहयोगी एमिकस क्युरीले आजै राय दिनेछन् । त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ । उनीहरूको बहससँगै सबै सुनुवाइ सकिनेछ । यसपछि फैसलाको प्रतीक्षा हुनेछ ।
गत असार ९ गते प्रतिनिधिसभा विघटनविरूद्ध परेका ३० वटा रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको थियो ।