झाङमा अड्किएको अवस्थामा सुजिताको शव फेला-Sutra News

झाङमा अड्किएको अवस्थामा सुजिताको शव फेला

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

चितवन- चितवनको राप्ती नगरपालिका-३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेको छ । आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा शव फेला परेको हो । उनी असार ११ गतेदेखि हराइरहेकी थिइन् ।



असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले शव नजिकै बोतलमा सेतो पदार्थ भेटिएको र शव नउठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए । घटनाको अध्ययनकै लागि शव नउठाइएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले युवती हराए लगत्तैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे अनुसन्धान गरिरहेको बताउँदै भने, ‘सूक्ष्मरूपमा त्रुटिरहित ढङ्गले सजगता अपनाउँदै प्रहरीले काम गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट