कांग्रेसमा १४ औं महाधिवेशनको सरगर्मी : को हुन् संस्थापन र इतर पक्षका सभापति उम्मेदवार ?-Sutra News

कांग्रेसमा १४ औं महाधिवेशनको सरगर्मी : को हुन् संस्थापन र इतर पक्षका सभापति उम्मेदवार ?

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

काठमाडौं । भदौ १६-१९ गते काठमाडौंमा गर्ने निर्णय गरिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा नेताहरूको दौडधूप तीव्र बनेको छ ।



सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाल दोहोर्‍याउने तयारीमा लाग्दै गर्दा इतरपक्षीय नेताहरू रामचन्द्र पौडेल, डा.शशांक कोइराला, डा.शेखर कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौलालगायत पनि सभापतिको आकांक्षी देखिएका छन् । कांग्रेसमा विशेषगरी संस्थापन र इतरपक्षका नेताहरूको महाधिवेशनकेन्द्रित छलफल पनि बाक्लिएको छ ।

देउवा नै सभापतिको उम्मेदवार

१३ औं महाधिवेशनबाट सभापति भएका वर्तमान सभापति देउवा संस्थापन पक्षबाट निर्विरोध सभापतिको उम्मेदवार हुने देउवानिकट एक नेता बताउँछन् । ‘पार्टीको १४ औं महाधिवेशनका लागि हाम्रो पक्षबाट शेरबहादुर देउवा नै सभापतिको उम्मेदवार हो,’ ती नेताले सूत्रन्युजसँग भने । पार्टीभित्र जतिसुकै आलोचना भए पनि देउवा सभापतिमा दोहोरिन चाहन्छन् ।

उपसभापति बिमलेन्द्र निधिले सभापतिको उम्मेदवारी दिने चर्चा चले अन्ततः निधिले अन्तिममा देउवालाई सघाउने स्रोतको भनाइ छ । देउवाले पनि महाधिवेशनमा आफ्नो प्रभाव बढाउन कार्यकाल सकिन तीन महिना बाँकी छँदा विभाग गठन गरेर प्रमुखहरू तोकेका थिए ।

पौडेल समूहमा आकांक्षी धेरै

वरिष्ठ नेता रामचन्द्र पौडेल अप्ठेरोमा छन् । आफूले विश्वास गरेका पात्रहरू प्रकाशमान सिंह र शशांक कोइराला संस्थापनका बिमलेन्द्र निधिसँग निरन्तर छलफलमा रहँदा पौडेल अप्ठेरोमा परेका हुन् । तर, पौडेललाई विश्वास छ, आफ्नो समूहबाट सहमतिमै सभापतिको उम्मेदवार तय हुने ।

सूत्रन्युजसँग उनी भन्छन्, ‘हाम्रो तर्फबाट सभापतिको उम्मेदवार र अन्य पदाधिकारी को बन्ने त्यसको निधो भइसकेको छैन । समय आएपछि मिलनबिन्दु खोज्छौं । अहिले सामूहिक भावनाले काम गरिरहेका छौँ ।’

१३ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका पौडेल १४ औं महाधिवेशनमा पनि सभापतिको उम्मेदवारी दिने तयारीमा छन् । पौडेलले भन्छन्, ‘सभापतिको उम्मेदवार म स्वत: हो नि ! पार्टीको काम गरिरोखको छु । उम्मेदवारी नदिने भए त सन्यास लिन्थें । साथीहरूले सहयोग गर्नुहुने छ भन्नेमा विश्वस्त छु ।’

आफ्ना पक्षका नेताहरू पनि सभापतिको आकांक्षी रहेको बुझेका नेता पौडेल यसलाई स्वभाविक ठान्छन् । ‘राजनीति गर्ने मानिसलाई आकांक्षा हुनु स्वभाविक पनि हो । तर आकांक्षा मात्रै गरेर हुँदैन । सम्भाव्यता पनि हेर्नुपर्छ । ‘मिटिङ प्वाइन्ट’ कहाँ देखिन्छ ? धाँधली गरेर अगाडि बढ्नेहरूसँग चुनाव जित्न सजिलो छैन । सबैले सोचेर एउटा निष्कर्ष निकाल्नुपर्छ’ पौडेलले भने ।

पौडेलले विश्वास गरेभन्दा फरक अवस्थामा उनको समूह छ । सहमतिमै सभापतिको साझा उम्मेदवार चयन गर्ने र सहमति नभए एक्लाएक्लै उम्मेदवारी दिने तयारीमा पनि इतरपक्षका नेताहरू छन् । नेता प्रकाशमान सिंह सभापतिको उम्मेदवारी घोषणा गर्दै त्यसको प्रचारमा जुटेका छन् ।

कोइराला परिवारबाट शेखर केन्द्रीय सदस्य डा.कोइराला पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । उनले लकडाउन अघि जिल्ला–जिल्ला पुगेर नेता तथा कार्यकर्तासँग छलफल समेत चलाएका थिए । हाल पनि उनी नेता/कार्यकर्ताको नियमित सम्पर्कमै छन् ।

महामन्त्री समेत रहेका डा.शशांक कोइराला सभापतिका लागि आकांक्षी देखिए पनि उनले अन्ततः शेखर कोइरालालाई नै सघाउने शशांक निकट एक केन्द्रीय सदस्यले जानकारी दिए । ती केन्द्रिय सदस्य भन्छन्, ‘मिडियाले शशांक कोइराला सभापतिमा उठ्ने प्रचार गरेको भए पनि कोइराला परिवारबाट शेखर कोइराला नै सभापतिको उम्मेदवार हो । यसमा सुजाता कोइरालाको पनि सहमति छ । प्रकाशमान दाइ र बिमलेन्द्र निधि दाइसँग छलफल गरेपनि त्यसलाई अन्यथा लिनुहुँदैन । अन्त्यमा अन्त्यमा दाइ, शशांक, प्रकाशमान सबैले शेखरलाई नै सघाउनुहुन्छ ।’

डा. कोइराला आफूले सभापतिको उम्मेदवारी दिएको अवस्थामा शशांकले सघाउनेमा ढुक्क छन् । कोइराला भन्छन्, ‘म उठ्ने भएपछि उहाँ (शशांक कोइराला) को पनि सहमति हुनुपर्ने हो । हामी सल्लाह गर्दै छौं ।’

डा. कोइराला पार्टी विधि विधान विपरित अगाडि बढेको भन्दै लोकतान्त्रिक पद्धति र कम्युनिस्टसँग जुध्न सक्ने व्यक्तिलाई सभापतिको उम्मेदवार बनाउनुपर्ने बताउँछन् । ‘पार्टीलाई लोकतान्त्रिक पद्धतिबाटै हिंडाउने, कम्युनिस्टसँग जुध्न सक्ने र जित्न सक्ने व्यक्तिलाई हामीले उम्मेदवार बनाउनुपर्छ । त्यसका लागि म पनि हुन सक्छु अर्को पनि हुन सक्छ’ डा.कोइरालाले भने ।

उम्मेदवारीबारे छलफल गर्दै सिटौला समूह

देउवा र रामचन्द्र पौडेलसँगै १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका पूर्वमहामन्त्री कृष्ण सिटौला समूहले सभापतिको उम्मेदवारी दिने/नदिने विषयमा छलफल गरेको छ । सूत्रन्युजसँग कुरा गर्दै नेता सिटौलाले भने, ‘१३ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने/नदिने साथीहरूसँग छलफल हुँदैछ ।’

केन्द्रीय सदस्य प्रदीप पौडेल पनि पार्टीको आन्तरिक लोकतन्त्रका सुदृढका लागि सभापतिको उम्मेदवार आश्वस्त रहेको बताउँछन् । सूत्रन्युजसँग कुरा गर्दै नेता पौडेलले भने, ‘सभापतिमा को उम्मेदवार हुने यस विषयमा हाम्रो छलफल भइरहेको छ । आन्तरिक लोकतन्त्र सुदृढका लागि उपयुक्त उम्मेदवार उठाउँछौं ।’

सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट सिटौला समूह महाधिवेशनका लागि निर्णायक समूह हो । यो समूहले उम्मेदवारी दिएमा पौडेल र देउवाको मतमा कैंची लाग्छ ।

यदि उम्मेदवारी नदिए कुनै एक समूहलाई फाइदा हुन्छ । देउवा, सिटौला र पौडेल अलगअलग निर्वाचन प्रतिस्पर्धा गर्दा कसैले पनि ५० प्रतिशत भोट ल्याउँदैनन् ।

पार्टीभित्र तेस्रो वरियतामा देखिएका कृष्ण सिटौलासँग देउवा वा पौडेल जो मिल्न सक्छ उसकै पल्लाभारी हुन्छ । १३ औं महाधिवेशनमा पनि सिटौला समूहले देउवालाई सहयोग गरेपछि उनी सभापति भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट