नयाँ पार्टी खोलिहालौं भन्ने नेपाल समूहका नेतामाथि जब गोकर्ण जंगिए …-Sutra News

नयाँ पार्टी खोलिहालौं भन्ने नेपाल समूहका नेतामाथि जब गोकर्ण जंगिए …

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताका लागि निरन्तर छलफलमा रहेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेता गोकर्ण बिष्ट अहिल्यै नयाँ पार्टी खोलिहाल्ने पक्षमा देखिन्नन् ।



ओलीसँग कुनै हालतमा सहमति हुन नसक्ने भन्दै भीम रावल, रामकुमारी झाँक्री लगायतका अन्य नेताहरूको निष्कर्ष छिटो भएको भन्दै वार्तामार्फत एकता हुनेमा विश्वस्त रहेका छन् बिष्ट ।

केही दिनअघि बसेको नेपाल समूहका केही नेताहरूको भेलामा सदाझैं नयाँ पार्टी खोल्ने कुरा उठ्यो । कम बोल्ने र शालीन छबी बनाएका नेता बिष्ट केही बेरसम्म त चुप बसिरहे ।

अन्य नेताहरूले ओलीसँग कुनै सहमति हुन नसक्ने भन्दै नयाँ दल खोलेर वामपन्थी आन्दोलनलाई ध्रुवीकरण गर्नुपर्ने कुरा निरन्तर गरिरहेपछि बिष्ट जंगिए ।

‘नयाँ दल खोल्ने हो भने पनि चुनावमा मबाहेक अरू को छ सुरक्षित ?’ बिष्ट यसरी जंगिएपछि बाँकी नेताहरूले एक अर्काको अनुहार हेर्न थाले ।

बिष्ट अझ बढी कड्के – ‘म सुरक्षित छु र त नयाँ दल नखोलौं, बरू त्यहीं भित्र संघर्ष गरौँ भनिरहेको छु, तपाईंहरूलाई नयाँ पार्टी कति छिटो चाहिएको ?’

बाँकीमध्ये एकजनाले यो कुरा यहीं छोडौं भन्नुपरेको थियो । ‘एकताका लागि अन्तिमसम्म प्रयास गरिरहने हो तर ओलीलाई अध्यक्ष मानेर एकता चाहिँ हुन सक्दैन भन्ने मेरो निष्कर्ष हो । यो कुरा अहिलेलाई यहीं थाती राखौं,’ अर्का नेताले भने ।

बिष्टले थपे – ‘को अध्यक्ष भए एकता हुन्छ भन्नेतिर अहिले नजाऔं । प्रधानमन्त्रीले चालेको कदम गलत छ भन्नेहरू उहाँकै वरिपरी छन् ।’

नेता नेपाल पनि एकताका लागि कार्यदल ब्युँताउनुपर्ने निष्कर्षमा पुगेका छन् । गत जेठ २ गते ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल र नेता नेपालको तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट रहेको दश सदस्यीय कार्यदल गठन गरिएको थियो ।

एकतापूर्व (२०७५ जेठ २)गते बाट पार्टी संचालन गर्न कार्यविधि तयार गर्ने म्यान्डेट कार्यदललाई दिइएको थियो । तर प्रधानमन्त्री ओलीले कार्यदल सदस्य भीम रावल लगायत ११ नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेपछि कार्यदलको औचित्य सकिएको थियो ।

कार्यदलको औचित्य सकिए पनि अन्य नेताहरू अनौपचारिक छलफलमा जुटिरहेका थिए । नेता बिष्ट तीमध्येका एक हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै गरिएको हस्ताक्षर फिर्ता लिन ओलीले दिएको अल्टिमेटम आज सकिदै छ । नेपाल समूहका नेताहरूले हस्ताक्षर फिर्ता नलिने बरू ओली आफैंले प्रतिनिधि सभा विघटन गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने बताउने गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट