संवैधानिक इजलास- जवाफी बहस सकियो, अब एमिकस क्युरीको राय बाँकी-Sutra News

संवैधानिक इजलास- जवाफी बहस सकियो, अब एमिकस क्युरीको राय बाँकी

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा भएको आजको जवाफी बहस सकिएको छ । 



रिट निवेदकको जवाफी बहस सकिएसँगै अब एमिकस क्युरीको राय आउन बाँकी छ ।

अहिले चियाब्रेक भएको छ । चिया ब्रेकपछि एमिकस क्युरीको बहस सुरु हुनेछ ।

नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीको रुपमा चयन गरेको छ । त्यस्तै सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीको रुपमा चयन गरेको छ ।

 संसद विघटनको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट २/२ जना एमिकस क्युरी माग गरेको थियो ।

 प्रतिनिधि सभा विघटनको मुद्दामा चलिरहेको जवाफी बहसमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले महान्यायाधिवक्ताले हचुवामा कुरा गरेको आरोप लगाएका छन् ।

सोमवार जारी बहसमा उनले भने, ‘एमालेका २६ जनाले हस्ताक्षर गरेका छन्, के त्यो किर्ते हो ? यस्तो हचुवा कुरा गरेर पनि हुन्छ ?’

यसअघि रिट निवेदक विपक्षबाट बहस गर्दै महान्यायाधिवक्ता बडालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपाल समूहका नेताहरूले गरेको हस्ताक्षर किर्ते भएको आरोप लगाएका थिए ।

त्यसैको जवाफ दिंदै वरिष्ठ अधिवक्ता दाहालले भने – ‘किर्ते हो भने मुद्दा चलाउने अधिकार महान्यायाधिवक्तासँगै छ, चलाए भैगो नि !’

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट