संवैधानिक इजलासमा बहस गरिरहेका एमिकस क्यूरी को हुन्, कसरी छानिन्छन् ?-Sutra News

संवैधानिक इजलासमा बहस गरिरहेका एमिकस क्यूरी को हुन्, कसरी छानिन्छन् ?

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

दोस्रो पटक संसद विघटनका विरुद्धमा परेको मुद्दामा आज ‘एमिकस क्यूरी’का ४ जना सदस्यहरूले बहस गर्दैछन् ।



संसद विघटन असंवैधानिक भएको कांग्रस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्दै अदालतमा परेको रिटमाथि बहस गर्न सर्वोच्च बारबाट २ र नेपाल बारबाट २ जना वरिष्ठ अधिवक्तालाई एमिकस क्यूरीका रूपमा झिकाइएको थियो ।

यससँगै कानून नपढेकाहरूलाई एमिकस क्यूरी के हो भन्ने प्रश्नले कन्फ्युज बनाएको हुनुपर्छ ।

वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल भन्छन् – ‘कुनै पनि विषयमा अदालतले फैसला गर्नुअघि एमिकस क्यूरी झिकाउने निर्णय गर्न सक्छ । यो भनेको अदालतमा वादी र प्रतिवादीबीच बहस हुने हुँदा अदालतलाई स्वतन्त्र वकिलहरूको राय आवश्यक पर्न सक्छ । एकहिसाबले भन्ने हो भने एमिकस क्यूरी अदालतको सहयोगी टीम हो ।’

अर्यालका अनुसार नेपाल बार एसोसियसनबाट २ जना अधिवक्ता र अदालत बार एसोसियसनबाट २ जना अधिवक्ताको एउटा टीम छ । जसलाई एमिकस क्यूरी भनिन्छ ।

एमिकस क्यूरी बनाउँदा सकेसम्म विचाराधीन मुद्दामा प्रभाव नपरोस भनेर स्वतन्त्र वकिलहरूको टीम छनौट गर्ने गरिन्छ । ‘यसमा सकेसम्म पक्षधरता देखाउने काम हुँदैन,’ अधिवक्ता अर्यालले भने ।

अदालतले  फैसला गर्दा सबै पक्षसँग राय लिएको सन्देश दिन र अदालतको फैसलामा प्रश्न उठ्ने सम्भावनालाई कम गर्न एमिकस क्यूरीको सहायता लिने गरिन्छ । 

गत जेठ ७ गते मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको दोस्रोपटक विघटन गरेकी थिइन् । त्यसमा परेका रिटहरूको पक्षविपक्षको बहस सकिएको छ । आज एमिकस क्यूरीका चारै जनाले बहस गरिरहेका छन् ।

नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीको रुपमा चयन गरेको छ । त्यस्तै सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीको रुपमा चयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट